हाइक टु लर्न

Newslaya Home

हाइक टु लर्न

- पुष्प चौहान
मङ्गलबार १३, फागुन २०७६

कतै सुनेको,
काठमाडौँमा आजकल केटाकेटीहरुलाई दुध कहाँबाट आउँछ भनेर सोध्यो भने ‘प्याकेटबाट’ भन्ने जवाफ आउँछ रे ।

सायद होला पनि, बढ्दो सहरीकरणसंगै धेरै थोक माँसिदै गएको छ । काठमाडौँको व्यस्तताको कारण गोठसम्म पुग्न गाह्रो नै होला, तर यस्ता शहरिकरण अहिले काठमाडौँमा मात्र सिमित छैन, देशभरि नै यसको प्रभाव देख्न सकिन्छ ।

हामीले हामी कहाँबाट आएका हौँ, बिर्सिदै छौँ, मौलिकता र पहिचानहरु मासिदै गएका छन् । हामीले हाम्रो ग्रामिण महत्व, मौलिकता र पहिचानलाई आउँदो पिढिँको लागि भए पनि जोगाउनुपर्ने भएको छ ।

अब कुरा गरौँ, हाम्रो समाजको घुमघाम संस्कृतिको ।

हामी घुम्ने कुरालाइ खाली मोजमस्तीको रुपमा लिन्छौँ, जबकि घुम्ने कुराले धेरै पाठ सिकाउँछ । धेरै कुराहरुको जानकारी दिन्छ । अनि खराब दिशातिर लम्की राखेको यो सहरिकरणलार्इ रोक्न त घुम्ने थेरापी नै बेस्ट हो जस्तो लाग्छ ।

जबसम्म हामीले हाम्रो ठाउँ, हाम्रो गाउँ र हाम्रो इतिहासको अन्वेषण गर्दैनौँ, तबसम्म हामी आँखा अगाडीका भ्रमलाई मात्र सत्य ठान्न बाध्य हुन्छौँ । घुम्नु एउटा ठुलो पढाइ हो । सिकाइ हो ।

हाम्रो समाजमा अर्को रोचक कुरा के छ भने, छोरी मान्छेलाई लगाइने बन्देज । हो, छोरी मान्छे भएर मैले यो कुरा लेख्दै गर्दा धेरैको मनमा प्रश्न उठ्यो होला कि छोरी मान्छे भएर के घुम्ने कुरा गरि रा’को होला ?

तर सधैँ झैँ छोरी मान्छेलाई घुमघाममा त्यती स्वतन्त्रता छैन, जति छोरा मान्छेलाई छ । छोरी चाहिँ जहिले छोरा मान्छेले टुरबाट फर्केर के ल्यादिन्छ भनेर पर्खिने मात्र गरिरहेका छन् । जबकी घुमघाम छोरी मान्छेलाइ पनि आवस्यक छ । मेरो भनाईको तात्पर्य पुरुषलाई होच्याउनु हैन, खाली महिलालाई उजागर गर्नु मात्र हो ।

होला, धेरै संघ संस्थाहरु र महिला अधिकारकर्मीहरुको कारणले अहिले तेस्तो अवस्था छैन । महिलाहरु कुँजिएर बस्नुपर्ने अवस्था छैन । तर अझै पनि पूर्ण रुपमा स्वतन्त्र पनि भइसकेका छैनन् ।

यही अवस्थालाई मध्यनजर गर्दै यहि फाल्गुन १६ देखि १८ गतेसम्म ‘हाइक टु लर्न’ भन्ने कार्यक्रम आयोजना हुँदैछ । सामाजिक काम र महिलाहरुको क्षेत्रमा सक्रिय फेसबुक पेज अ वन्डर गर्लले यो कार्यक्रम आयोजना गर्दै छ ।

घुम्नु र अन्वेषण गर्नु भनेको मोज मस्ती मात्र नभएर धेरै थोक सिक्ने मौका हो भन्ने उद्धेश्य यो कार्यक्रमको हो । महिला लक्षित यो कार्यक्रमअन्तर्गत इलामको माइजोग्माइ गाउँपालिकाको नयाँबजार गाउ्रँबाट जौबारीसम्म एकदिने पैदल यात्रा गरिने छ । जसअन्तर्गत महिलासम्बन्धि जनचेतना मुलक कार्यक्रम, पर्यावरण र प्रकृति सम्बन्धि जानकारी प्रदान गरिनेछ । यस्तै प्रकृति र बन्यजन्तुको संरक्षणको महत्व, खोज र अनुसन्धानको महत्वको बारेमा छलफल गरिनेछ । स्प्रिंगडेल कलेज अफ हस्पिटालिटी मेनेजमेन्टको मुख्य प्रायोजन रहेको कार्यक्रमले अरु दाता र सहयोगीहरुको समेत खोजि गरिरहेको छ ।