दमकको बजेट ३० प्रतिशत कटौती

Newslaya Home

दमकको बजेट ३० प्रतिशत कटौती

मङ्गलबार १३, फागुन २०७६

झापा । बजेट आउने सुनिश्चितता नभएको भन्दै दमक नगरपालिकाले ३० प्रतिशत बजेट कटौटी गरेको छ ।

दमक नगरपालिकाले चालू आर्थिक वर्ष २०७६/०७७ का लागि पाँचौ नगरसभामा ल्याएको बजेट छैठौ नगरसभामा आएर ४९ करोडभन्दा बढी कटौती गरेको हो ।

पाँचौ नगरसभाले १ अर्व ६५ करोड ४१ हजार ३ सय ५० रुपैयाँको बजेट, नीति तथा कार्यक्रम पारित गरेको थियो ।

बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक समेत रहेकी दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बजेट कटौतीको प्रस्ताव गरेसँगै आफैंले ल्याएको बजेट कार्यान्वयन हुन नसकेको पाइएको छ ।

उपप्रमुख अधिकारीका अनुसार बैदेशिक सहायता अन्तर्गत विश्व बैक परियोजना बापत २० करोड बैदेशिक सहयोग हालसम्म प्राप्त नभएको र प्राप्त हुने सुनिश्चितता नभएको, नगर विकास कोषबाट लिइने ऋण १४ करोड २८ लाख हालसम्म ऋण सम्झौता हुन नसकेकोले बजेट घटेको हो ।

सामाजिक सुरक्षा भत्ता वापतको १५ करोड रकम सञ्चित कोषबाट व्ययभार नभएर सिधै लाभग्राहीको खातामा जम्मा हुने गरी सम्बन्धित बैंकको खातामा आउने भएकाले यो पनि बजेटबाट हटाइएको सो अवसरमा जानकारी दिइएको थियो । स्थानीय सरकारले आफ्नै बजेट कार्यान्वयन गर्न नसकेको बारम्बार गुनासो आउन थालेपछि नगरसभामार्फत बजेट कटौती सुरु भएको बताइन्छ ।