दुर्घटनामा मृत्यु भएका इटहरीवासीको यसरी गरियो अन्तीम संस्कार, शोकमा डुब्यो घाट

Newslaya Home

दुर्घटनामा मृत्यु भएका इटहरीवासीको यसरी गरियो अन्तीम संस्कार, शोकमा डुब्यो घाट

सोमबार १२, फागुन २०७६

इटहरी । भारतमा भएको बस दुर्घटनामा मारिएका इटहरीवासीको अन्तिम दाहसंस्कार गरिएको छ । उनीहरुको दाहसंस्कार आज साँझ इटहरीस्थित बुढीगंगा जमुना मुक्ति घाटमा गरिएको हो ।

नेकपा इटहरीको टोलीले बागडोरा एअरपोर्ट पुगेर शव ल्याएको थियो । टोलीमा नेकपाका तर्फबाट प्रदेश सांसद लिलम बस्नेत, नेकपा इटहरी अध्यक्ष बहादुरसिंह तामाङ, सचिव काशीनाथ दंगाललगायत थिए । शव ल्याउन दमक नगरपालिकाले शव वाहन दिएको थियो । झापाका प्रहरीहरुको सहयोगमा शव ल्याइएको हो ।

बागडोरा एअरपोर्टसम्म प्लेनमा ल्याइने शव सिलगुडी हुँदै नेपाल प्रवेश गराइएको हो । साँझ अबेर ल्याइएका शवलाई बाकसमा बन्द गरेर ल्याइएको थियो । शव राखेको बाकसको जति खोलिन्थ्यो, वरपर बसेर पर्खिरहेका आफन्त र छिमेकीहरुको चिच्याहट उति चर्को हुँदै जान्थ्यो । बुढीगंगा घाट शोकमा डुबेको थियो ।

तीर्थ यात्राको लागि भारत गएका नेपालीहरुको बस गत बिहीबार दुर्घटनामा परेको थियो । दुर्घटनामा इटहरीका ६ जना र विराटनगरका १ जना गरेर ७ जनाको ज्यान गएको थियो । मृत्यु भएका ६ जना इटहरी वडा नं. १० निवासी हुन् ।