भारत बस दुर्घटना : मृतकको शव नेपाल ल्याइँदै

Newslaya Home

भारत बस दुर्घटना : मृतकको शव नेपाल ल्याइँदै

सोमबार १२, फागुन २०७६

इटहरी । भारतमा भएको बस दुर्घटनामा मारिएका इटहरीवासीको शव आज नेपाल ल्याईँदैछ । शव लिन इटहरीबाट एउटा टोली झापा पुगेको छ । बागडोरा एअरपोर्टसम्म प्लेनमा ल्याइने शव सिलगुडी हुँदै नेपाल प्रवेश गराइनेछ ।

तीर्थ यात्राको लागि भारत गएका नेपालीहरुको बस गत विहीबार दुर्घटनामा परेको थियो । दुर्घटनामा इटहरीका ६ जना र विराटनगरका १ जना गरेर ७ जनाको ज्यान गएको थियो । मृत्यु भएका ६ जना इटहरी वडा नं. १० निवासी हुन् । ६ जनाकै शव ल्याउन लागिएको हो ।

परराष्ट्र मन्त्रालय, दिल्ली स्थित नेपाली दुताबासको सहयोगमा शवहरु नेपाल ल्याउन लागिएको इटहरीकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिएकी छिन् ।

नेकपा इटहरीको पहलमा शव ल्याइँदैछ । शव लिनको लागि प्रदेश सांसद लिलम बस्नेत, नेकपा इटहरी अध्यक्ष बहादुरसिंह तामाङ, सचिव काशीनाथ दंगाललगायतको टोली बागडोरा एअरपोर्टतर्फ लागेको छ ।

यसैबिच नेकपा इटहरीले उक्त घटनामा ज्यान गुमाएकाहरुलाई श्रद्धान्जली दिएको छ । विज्ञप्ती जारी गर्दै नेकपा इटहरीका अध्यक्ष ज्वालासिंह तामाङ र सचिव काशीनाथ दंगालले दुःख व्यक्त गरेका हुन् ।