भारत बस दुर्घटना : मृतकको परिवारलाई भेटिन् उपमेयरले

Newslaya Home

भारत बस दुर्घटना : मृतकको परिवारलाई भेटिन् उपमेयरले

शनिबार १०, फागुन २०७६

इटहरी । तीर्थयात्राका लागि भारत गएका बेला दुर्घटनामा ज्यान गुमाएकाहरुको घर पुगेर इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले समवेदना ब्यक्त गरेकी छिन् ।

इटहरी १३ का वडाध्यक्ष शिवनारायण चौधरीका साथमा मृतकको घर घर पुगेर उपमेयर गौतमले सिंगो इटहरीनै शोकमा रहेको जनाउदै धैर्यधारण गर्न परिवारजनलाई आग्रह गरिन् ।

शोकाकुल परिवारजनले आफन्तहरुको शव नेपाल ल्याउन पहल गरिदिन आग्रह गरेका छन् । उपमेयर गौतमले उपमहानगरको तर्फबाट परराष्ट मन्त्रालयसँग आग्रह गरिएको जानकारी गराउँदै भारतस्थित नेपाली दुतावासबाट एकजना प्रतिनिधि घटनास्थल तर्फ गइसक्नुभएको परराष्ट्र मन्त्रालयले जानकारी गराएको गौतमले परिवारजनलाई सुनाइन् ।

विहीबार भएको दुर्घटनामा इटहरी १० बाट मात्रै ६ जनाको ज्यान गएको छ । ज्यान गुमाउने १० जना मध्ये अरु इटहरी ११, १२ र दुहवीका छन् । दुर्घटनामा घाइते भएका १४ जनाको सरकारी मोहन कुमारामंगलम मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ। स्थानीय प्रहरीका अनुसार सुनसरीबाट तीर्थयात्रामा गएको एउटा समूह कन्याकुमारीमा प्रार्थनापछि बैंगलोर गइरहेको थियो।