‘प्रेमगीत ३’को दोस्रो गीत सार्वजनिक (भिडियोसहित)

Newslaya Home

‘प्रेमगीत ३’को दोस्रो गीत सार्वजनिक (भिडियोसहित)

शुक्रबार ०९, फागुन २०७६

काठमाडौं । चलचित्र ‘प्रेमगीत ३’को दोस्रो गीत सार्वजनिक भएको छ । महाशिवरात्रीको अवसर पारेर सार्वजनिक गरिएको चलचित्रको शिर्ष गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर, राजेश कुमार श्रेष्ठको शब्द र एलिश कार्कीको संगीत रहेको छ ।

गीतमा चलचित्रका चल–अचल दृश्यहरु समावेश छन् । गीतले चलचित्रका दुई प्रमुख पात्र प्रेम र गीतको मनोभाव र प्रेमभाव बोल्छ ।

चलचित्रमा अभिनेता प्रदीप खड्का ‘प्रेम’ र नव–अभिनेत्री क्रिस्टिना गुरुङ ‘गीत’को भूमिकामा छन् । गीतमा उनीहरुको अंकुराउँदै गरेको प्रेमलाई देखाइएको छ । गीतमा बाल कलाकार अनुभव रेग्मी र सम्वृद्धि शाही ठकुरीलाई पनि देख्न सकिन्छ । चलचित्रमा अनुभव प्रदीपको बाल्यकाल (प्रेम)को भूमिकामा देखिँदैछन् । भने, सम्वृद्धि क्रिस्टिनाको बाल्यकाल (गीत) को भूमिकामा छिन् ।

चलचित्रमा प्रदीप, क्रिस्टिना, अनुभव र सम्वृद्धिका अलावा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, क्रिजन गौतम, जीवन भट्टराईलगायतका कलाकारको अभिनय देख्न सकिन्छ । चलचित्रले डेढ सय वर्ष अगाडिको प्रेमकथा भन्छ । चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेका हुन् ।

छेतेन गुरुङ र मन्दीप गौतमको लेखन रहेको चलचित्र आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउँदैछ ।