‘गोर्खा ट्रेलब्लेजर’ दौड धरानमा हुने

Newslaya Home

‘गोर्खा ट्रेलब्लेजर’ दौड धरानमा हुने

शुक्रबार ०९, फागुन २०७६

धरान । आगामी चैत्र तेस्रो साता धरानमा ‘गोर्खा टेलब्लेजर’ दौड हुने भएको छ । गोर्खाहरुको सम्झनामा हङकङमा आयोजना हुँदै आएको दौड समिट्रिज ट्रष्ट नेपालको आयोजनामा प्रदेश १ सरकारको सहयोगमा पहिलो पटक धरानमा हुने भएको हो ।

दौड प्रतियोगिता चैत्र २२ गते आयोजना गर्न लागिएको र स्वदेशी तथा विदेशी करिब ३ सय धावक धाविकाहरुले भाग लिने अपेक्षा रहेको ट्रष्टले जनाएको छ । सन् २००६ देखी हङकङमा यो दौड प्रतियोगिता सुरु भएको हो । जसमा थुप्रै देशका धावक धाविकाहरुले भाग लिने गरेका छन् ।

नेपालमा गत वर्ष ट्रष्टको स्थापना गरिरएको हो । प्रतियोगिताको लागि कच्ची बाटो र भौगोलिक रुपमा डाडाकाडा भएको ठाउँलाई चाहिने बताइएको छ । धावक धाविकाहरुले करिब १२ देखी १५ किलोमिटर दुरी पूरा गर्नुपर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा १६ वर्षमाथीका धावक धाविकाहरुले मात्र सहभागी हुन पाउने आयोजकले जनाएको छ । जसमा सहभागी शुल्क २ सय रुपैयाँ लाग्ने र मेडल, टि–सर्ट र जुसको व्यावस्था आयोजकले गरिदिने जनाइएको छ । दौडमा अल्ट्रा धाविका मिरा राई समेत आउने सम्भावना रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने महिला र पुरुषले जनही नगद २५ हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । गोर्खाहरुको सम्झनामा ट्रष्टले दौड प्रतियोगितासंगै विभिन्न कार्यक्रमको आयोजना गर्न लागेको जनाइएको छ ।