भारतमा दुर्घटना : इटहरीका कम्तिमा तीन जना तीर्थयात्रीको मृत्यु

Newslaya Home

भारतमा दुर्घटना : इटहरीका कम्तिमा तीन जना तीर्थयात्रीको मृत्यु

शुक्रबार ०९, फागुन २०७६

इटहरी । भारतमा मिनिबस दुर्घटना हुँदा मृत्यु भएका ६ जनामध्ये तीन जना इटहरी उपमहानगरपालिकावासी रहेको खुलेको छ । इटहरी वडा नं. १० का वडाध्यक्ष प्रकाश चौधरीले कम्तिमा तीन जना आफ्नो वडाको परेको पुष्टि गरेका हुन् ।

माघ २३ गते तीर्थयात्रामा गएका उनीहरू सवार बस भारतको सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान दुर्घटनामा परेको थियो । दुर्घटनामा मृत्यु भएको बताइएका ५६ वर्षका गोपाल तामाङ, ४६ वर्षका वीरबहादुर राई, ५० वर्षका टीकाराम चौधरी इटहरीवासी रहेको चौधरीले जानकारी दिए ।

दुर्घटनामा ६० वर्षका विष्णु दाहाल र ५० वर्षकी बेलुकारी चौधरीको पनि मृत्यु भएको बताइएको छ । बेलुकारी भनिएकी महिलाको नाम फरक परेको हुनसक्ने र उनी पनि वडा नं. १० कै हुनसक्ने चौधरीले बताए । ‘मृतक अरु पनि इटहरीकै हुनसक्छ, विभिन्न टोलबाट गएको भन्ने थाहा भएको छ,’ उनले भने ।

चौधरीले मृतक तथा घाइतेहरुलाई नेपाल ल्याउने व्यवस्था चाँडो मिलाउन माग गरेका छन् । शुक्रबार र शनिबार विदा भएकोले नेपाल ल्याउन समस्या भएको उनको गुनासो छ ।

३४ जना सवार रहेको मिनिबस दुर्घटना हुँदा ६ जनाले घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेहरूमा २ जना महिला र ४ जना पुरुष रहेका छन् ।

शव फिर्ता गर्ने प्रकिया अघि बढाउन नेपाली दूतावासले भारतको विदेश मन्त्रालय र तामिलनाडूको स्थानीय निकायसँग समन्वयन गरिरहेको जनाएको छ।

भारतीय विदेशमन्त्री एस जयशङ्करले दुवै दुर्घटनाप्रति दुस्ख व्यक्त गर्दै मृतकका परिवारप्रति श्रद्धान्जली र घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।