कोरोना त्रासः दक्षिण कोरियाका २५ लाख व्यक्तिलाई घरभित्र बस्न आग्रह

Newslaya Home

कोरोना त्रासः दक्षिण कोरियाका २५ लाख व्यक्तिलाई घरभित्र बस्न आग्रह

शुक्रबार ०९, फागुन २०७६

काठमाण्डौ । कोरोनाको संक्रमण देखिन थालेको भन्दै दक्षिण कोरियाको डाइगुका मेयर क्वोन योङ–जीनले नगरक्षेत्रका २५ लाख मानिसलाई घरभित्रै बस्न आग्रह गरेका छन्। मेयर क्वोनले सम्भव भए घरभित्र मास्क लगाएर बस्न समेत आग्रह गरेका छन् ।

दक्षिण कोरियाको दक्षिणपूर्वमा रहेको डाइगु नगरक्षेत्रमा बिहीवार मात्र थप ३५ जनामा कोरोना जीवाणुको संक्रमण देखिएको थियो। कोरियाली संक्रामक रोग नियन्त्रण एवं रोकथाम केन्द्र (केसीडीसी) ले ३५ जना नयाँ विरामीमध्ये २८ जना हालैमात्र चर्चमा गएका व्यक्ति रहेको जनाएको छ। उक्त चर्चमा एकजना कोरोना संक्रमित व्यक्ति पनि सहभागी भएका थिए।

केसीडीसीका अधिकारीले विदेश भ्रमण नगरेकी ६० वर्ष हाराहारीकी ती दक्षिण कोरियाली महिलामा कोरोना संक्रमण देखिएको थियो। बुधवार नगर कार्यालयले १३ जनामा कोरोना जीवाणु संक्रमित भएको जनाएको थियो। दक्षिण कोरियामा हालसम्म ८२ जनामा कोरोनाको संक्रमण देखिएको छ।

कोरोना जीवाणुको संक्रमण बढ्न थालेसँगै डाइगु नगरका सडकहरू सुनसान हुन थालेका छन्। दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमित भएका पहिलो व्यक्तिको मृत्यु भएको छ। स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार बिहीवार ती व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो। संक्रमितको मृत्यु भएसँगै दक्षिण कोरियामा पनि कोरोना भाइरसको चुनौती र त्रास थपिएको छ।