‘जुटको आयात रोकेर खपतको क्षेत्र बढाउनुपर्छ’

Newslaya Home

‘जुटको आयात रोकेर खपतको क्षेत्र बढाउनुपर्छ’

शुक्रबार ०९, फागुन २०७६

इटहरीमा जुटको विकासको लागि जुट विकास अनुसन्धान केन्द्र स्थापित छ । यो कार्यालय जुटको बिउ उत्पादन र अनुसन्धानका क्षेत्रमा सक्रिय छ । तर पछिल्लो समयमा आएर जुटप्रति किसानको आकर्षण छट्दो छ । यसले कार्यालयको पहिलाको जस्तो आकर्षण देखिँदैन । तर त्यसका पछि धेरै समस्याहरु छन् । केन्द्रको प्रमुखको रुपमा अहिले गोविन्दप्रसाद तिम्सिना हुनुहुन्छ । कृषिका विभिन्न क्षेत्रको विकास र अनुसन्धानमा लामो अध्ययन र अनुभव संगालेका तिम्सिनासँग न्युजलयले गरेको कुराकानी ः

जुट विकास अनुसन्धान केन्द्रका मुख्य समस्या के–के छन् ?
जुट विकास अनुसन्धान केन्द्र भित्र र बाहिर आफ्नो आफ्नो समस्या छ ।

केन्द्र भित्र जमिन घेराबन्दी छैन । यस क्षेत्रको जमिन मिचिएको छ । अर्को समस्या भनेको प्राविधिक कर्मचारीहरुको अभाव छ ।

यस्तै सरकारले कृषिको विकास गर्ने भन्छ, तर कृषिको कार्यक्रम भनेर जुटलाई प्रयोग गर्न वास्ता गर्दैन । पहिले जिल्ला विकास समिति हुँदा र अहिले प्रदेश सरकार भित्रको स्थानीय सरकारको कृषि कार्यक्रममा पनि जुटलाई समावेश गरेको छैन ।

यस्तै बजारीकरणको पनि समस्या छ । हामी धेरै जातका धेरै विउहरु उत्पादन गर्न सक्छौं । तर ती बिउहरु कहाँ लगेर बेच्ने भन्ने समस्या पनि आउन सक्छ । अघिल्लो वर्ष ५ टन बिउ धेरै मुस्किलले बिक्री गरेका थियौं ।

जुटको क्षेत्र बढाउने र आयात हुन रोक लगाउन सकियो भने जुटको उत्पादन र विकास हुन सक्थ्यो ।

तपाईहरुले कति बिउ उत्पादन गरेर निर्यात गर्न सक्नु हुन्छ ?
देशमा जुटको बिउ जतिपनि उत्पादन गर्न सक्छौं । अझ समुदायमा पनि बिउ उत्पादन कार्यक्रम छ । कृषकहरुलाई नै बिउ उत्पादन गराएर कृषकहरुकै आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले काम गरिरहेका छौं ।

सरकारबाट कस्तो सहयोग पाउनु भएको छ ?
यो पूर्ण रुपमा सरकारबाटै चलेको संस्था हो । हाम्रो जनशक्तिले भ्याएसम्म र हामीले मागे जति बजेट हामीलाई उपलब्ध छ ।

सरकारको पूर्ण सहयोग हुँदा हुँदै पनि हाम्रो कार्यक्षेत्र सिमित छ । हामीले अनुसन्धान र प्रविधिको क्षेत्रमा मात्रै काम गर्ने हो । त्यसलाई प्रचारप्रसार गरेर कृषकमा पुर्याउने काम सरकारले नै गर्दछ । स्थानीय तहमा आएका कृषि विभागहरुले हाम्रो प्रविधिहरुलाई प्रचार गरिदिएको छ । समन्वय गरेर हामीले पनि कृषि विभागका कार्यक्रमहरुमा जुटका क्षेत्रहरु राखिदिएका छौं ।

तपाईले अनुसन्धानको क्षेत्रमा काम गरिरहँदा के–कस्ता समस्या र चुनौती भोग्नु पर्यो त ?
सुरुसुरुमा अनुसन्धान क्षेत्रमा बजेट कम थियो । अहिले प्राथमिकतामा राखेको छ । तर अन्य देशहरुको तुलनामा चैं कृषि तथा अनुसन्धानमा एकदमै थोर लगानी रहेको छ । अनुसन्धानमा नै लगानी थोरै भएपछि कृषिको विकास हुन्छ भनेर सोच्न सकिँदैन । प्राइवेट सेक्टरले कुनै फ्याक्ट्री नै खोल्यो भने उसले पनि अनुसन्धानको काम गर्छ भने यो त देशको समग्र कृषिको कुरा हो । कृषि र अनुसन्धानमा पर्याप्त लगानी नभएको जस्तो मलाई लाग्छ ।

नेपालमा कृषि क्षेत्रको विकास नहुनुमा मुख्य कारण के हो जस्तो लाग्छ ?
कृषि क्षेत्रको विकास नै नभएको चैं होइन । बढी उत्पादन दिने बिउ, बिरुवाहरुको अ नुसन्धान भइरहेको छ । तर अनुसन्धानले गरेका कुराहरुलाई ठिक ढंगले बाहिर ल्याउन नसक्नु एउटा कारण हो । अर्को कारण भनेको वास्तविक किसानले मल बिउमा पहुँच पाएको छैन । जसले गर्दा उनीहरु निरुत्साहित बनेका हुन् । विकास भएका प्रविधिहरु किसान समक्ष सही ढंगले पुगेको छैन । तर उत्पादनको हिसाबले हेर्ने हो भने जमिन घट्दै गएको छ, उत्पादकत्व बढ्दै गएको छ ।

अहिलेका रासायनिक मलहरुको कारणले माटो बिग्रने गर्दा कम उत्पादन हुने गरेको हो ?
त्यस्तो समस्या बिरलै होलान् । कृषकले कति, कसरी प्रयोग गर्ने भन्नेमा ज्ञान नहुँदा पनि हुनसक्छ । कतिपय किसानलाई प्रविधिको बारेमा थाहै नभएर पनि हो । जस्तोकी अहिले चैतमा रोप्ने हर्दीना धान छ, उक्त धान १०० मन एक बिगामा फल्छ । त्यसको बिउ अनुसन्धान केन्द्रबाट लानुपर्छ भन्ने धेरै किसानलाई थाहा छैन । जुट केन्द्रमा पनि धानको बिउ पाइन्छ र ! भन्ने हुन्छ ।

यहाँ जुटको बिउ, विरुवा अनुदानमा चाहिँ पाइन्छ कि पाईँदैन ?
हाम्रो संस्थाबाट अनुदान दिने प्रक्रिया छैन । हामीले कृषकलाई सिधै फाइदा हुने बिउ मूल्य लिएर उपलब्ध गराउँछौं । बिउहरुको परिक्षणका लागि चाहिँ निःशूल्क दिन्छौं । यो कार्यालय रहेको क्षेत्रमा विकृतिसमेत थियो । लागुपदार्थ दुव्र्यसनीले अखडा नै बनाएका थिए । डेटिङ स्पोट पनि बनेको थियो । अहिले त्यो समस्या छ कि छैन ?
अहिले पनि केही सिरिन्जहरु भेटिन्छन् । बाइकमा आएर उभिरहेका हुन्छन् तर कतिखेर प्रयोग गर्छन् त्यो थाहै हुँदैन । केटाकेटी आएर डेटिङ स्पोट बनाउने काम चैं शून्य भएको छ । कहिले काही कलेजका विद्यार्थीहरु पनि ड्रेसमा नै आएका हुन्छन् । उनीहरुलाई सम्झाइबुझाइ गरेर पठाउने गरेका छौं ।

अन्यमा के भन्न चाहनुहुन्छ त ?
इटहरीको मुटुमा अवस्थित जुटबाली अनुसन्धान कार्यक्रमको क्षेत्र सानो भएकाले यसको संरक्षण गर्ने दायित्व हामी सबैको हो । त्यसैले यो फर्मलाई नमूना फर्मको रुपमा व्यवस्थापन गर्न सकिने भएकाले सबै मिलेर जोगाउनु पर्छ ।

यसको उद्देश्य अनुसारको कामहरु हुनका कतैबाट पनि बाधा हुनु हुँदैन । हाम्रो तर्फबाट हामीले गर्ने भनेको देशको लागि गर्ने हो । तुलनात्मक हिसाबले उत्पादनहरुमा अगाडीको वर्षहरु भन्दा राम्रो हुँदै आएको छ । राजस्व संकलनमा दोब्बर वृद्धि हुँदै आएको छ । त्यसकै लागि हामी काम गर्नको लागि तल्लिन छौँ । यस क्षेत्रमा कहिलेकाही जग्गा मिच्ने, नाप्ने गर्नाले बाधा हुने गर्दछ । यस्तो समस्यालाई सबै मिलेर निरुत्साहित गर्नुपर्छ ।