सडक मिचेर नाला निर्माण गरेको भन्दै बराहक्षेत्रका रेल्वेवासिहरु आन्दोलनमा

Newslaya Home

सडक मिचेर नाला निर्माण गरेको भन्दै बराहक्षेत्रका रेल्वेवासिहरु आन्दोलनमा

बुधबार ०७, फागुन २०७६

बराहक्षेत्र । सडक मिचेर नाला निर्माण गरेको भन्दै सुनसरी बराहक्षेत्रका रेल्वेवासिहरु आन्दोलनमा उत्रेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै बराहक्षेत्र चक्रघट्टीको रेल्वे संघर्ष समितिले आफ्ना माग समयमा नै स्थानीय सरकारले सुनुवाइ नगरे भोक हड्ताल बस्ने चेतावनी दिएको छ ।

मुनाल चौकदेखि बसपार्कसम्म निर्माण भइरहेको ढलनाला सडकवाट २–३ फिट पुर्व तर्फ मिचेर बनाएको जग्गा नापजाँच गर्दा डिमर्केशनबाट नापी गर्नुपर्नेमा जथाभावी नापजाँच गरिएको, रेल्वे वासिन्दाले बराहक्षेत्र नगरपालिकाको न्यायिक समितिमा निवेदन दिएपनि त्यसमाथि सुनुवाइ नै नगरी हतारपुर्वक ढलनाला निर्माण गरिएको, स्थानीय सरकार आफैले न्यायिक समितिको अस्तित्व समाप्त पार्ने काम भएकोमा संघर्ष समितिको गम्भीर ध्यानाकर्षण भएको रेल्वे संघर्ष समितिका सचिव ईन्द्र भुजेलले बताए ।

२० लाखको कुल बजेटमा निर्माण भएको सो ढलनालामा ६ वटा विद्दुत पोल परेको र सो पोल नालिबाट स्थानान्तरण गर्दा प्रतिपोल रु २ लाखका दरले १२ लाख खर्च हुने समितिले बताएको छ । संघर्ष समितिले एकतर्फी समिति निर्माण गरि ढलनाला बनाएको समेत बतायो ।

ढल निर्माणको क्रममा सडकको पुर्व तर्फ रेल्वेमा बसोबास गर्ने स्थानीयको विरोध रहदा रहदै सडक पश्चिम तर्फका स्थानीयलाई मात्र ढलनाला समितिमा राखेर निर्माण कार्य गरेकोमा समितिले आपत्ति जनाएको छ ।

गाउँ बिकास समितिमा दलिय राजनीतिक संयन्त्र हुदा सडकको चौडाई निर्धारण गरिएको थियो । सोहि क्षेत्रमा शिबालयदेखि मुनाल चौकसम्म ढलनाला निर्माण गरियो । तर मुनाल चौकदेखि बसपार्कसम्म भने नालालाई २–४ फिट पुर्व तर्फ सासेर निर्माण गरिनु मिचाहा प्रवृत्ति रहेको समितिका अध्यक्ष माधब बरालले बताए । यदि संघर्ष समितिलाई नगरले उचित सम्बोधन नगरे चरणवद्द आन्दोन हुने समितिका सचिव भुजेलले बताए ।

संघर्ष समितिले यस अघि नै बराहक्षेत्र नगरपालिकालाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरिसकेको छ । यता बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले नगरपालिकाको प्राविधिकले नापजाँच गरेर सिमाङ्कन गरेकाले निर्माण प्रति चित्त नबुझे अदालत जान सक्ने कुरा बताएका छन् ।