भोजपुरका ‘दले दाई’को यात्रा : इटहरी हुँदै काठमाडौसम्म

Newslaya Home

भोजपुरका ‘दले दाई’को यात्रा : इटहरी हुँदै काठमाडौसम्म

बुधबार ०७, फागुन २०७६

इटहरी । कान्तिपुर टेलिभिजनमा हरेक सोमबार र मंगलबार प्रसारण हुने रियालिटी शो कमेडी च्याम्पियनमा एउटा दलालको पात्रमा व्यङ्ग्य गरेका सुमन कोइराला जर्ज र आम मानिसको ध्यान खिच्न सफल छन् ।

कमेडी च्याम्पियनमा चर्चित बनेका सुमनको आफ्नै कथा छ । भोजपुरको दाँवास्थित सिद्धेश्वर उच्च माविमा बेला–बेला मञ्चन हुने नाटक हेरेर कलाकार बन्ने इच्छा जगाएका सुमनले अग्रज कलाकारहरुको अभिनय हेर्दै एक दिन कलाकार बनेरै छोड्ने विश्वास लिएका थिए ।

कक्षा ७ मा पढ्दा परिवारसहित सुनसरीको इटहरी आएका सुमन १०–११ वर्षको उमेरमै क्यारिकेचर गर्न पोख्त भइसकेका थिए । भोजपुरमा हुँदा फिल्म हेर्न नपाएका उनलाई इटहरी आएपछि भने ठूलै अवसर मिल्यो । त्यसपछि झन् कलाकारिताप्रति उनको रुचि बढ्न थाल्यो ।

२०७१ सालतिर प्लस टु सक्नेबितिक्कै काठमाडौं पुगेका उनी मासिक पाँच हजार रुपैयाँ लिएर एउटा टमाटर फर्ममा काम गर्थे । केही समयमा नै कामबाट निकाल्दिए पछि घर फर्किएका उनी झुम्काको रामधुनी एफएफमा काम गर्न थाले ।

उक्त एफएफमा समाचार वाचन र कमेडी कार्यक्रम चलाएका उनले इटहरीको एरिना टेलिभिजनमा ‘गोलभेँडा सो’ स्ट्यान्डप कमेडी कार्यक्रम समेत सञ्चालन गरे ।

सोही क्रममा एरिना टिभीको म्यानेजर बनेका उनले थुप्रै इभेन्टसमेत व्यवस्थापन गर्न थालिसकेका थिए । तर स्नातकसम्मको अध्ययनपछि कलाकार बन्ने ध्येय बोकेर उनी ‘नेपाल आज’मा रिपोर्टरका रुपमा पुनः काठमाडौं छिरे ।

अभिनय कक्षासमेत लिएका उनले हाँस्य टेलिशृंखला ‘भद्रगोल’मा सानोतिनो रोल गरे भने इमेज च्यानलको ‘उल्टोसुल्टो’मा पुलिसको रोलमा अभिनय गरे । यसरी दैनिकी चलाइरहेका सुमनले कमेडी च्याम्पियनमा अडिसन दिएर छनौट हुन सफल भए ।

टप २४ मा पुगे उनले केही पाउन केही गुमाउनुपर्छ भन्ने सोँच लिएर जागिर नै छाडिदिए । ‘टप–टेन’बाट बाहिरिएका उनी वाइल्ड कार्डबाट पुनः कमेडी च्याम्पियनमा फर्किएर ‘टप–फो’ सम्म पुग्न सफल भएका छन् ।

निक्कै चर्चा बटुलेका उनको बाल्यकालमा कलाकार बन्ने सपना एक हदसम्म पूरा भएको छ । जीवन नमरुन्जेल हिँडिरहने बाटो भएकाले एउटा असल नागरिक बन्ने कोसिस गर्नुपर्ने उनी बताउँछन् ।

उनलाई अहिले नै विभिन्न सिरियलसँगै विज्ञापन कम्पनी र टेलिभिजनबाट समेत अफर आएका छन्। तर, तत्कालका लागि उनको ध्यान कमेडी च्याम्पियन मै छ।