मोरङको रंगेलीमा सुत्केरी र शिशुको मृत्युपछि अस्पताल तोडफोडको प्रयास

Newslaya Home

मोरङको रंगेलीमा सुत्केरी र शिशुको मृत्युपछि अस्पताल तोडफोडको प्रयास

मङ्गलबार ०६, फागुन २०७६

मोरङ । मोरङको रंगेली नगरपालिका–७ स्थित रंगेली अस्पतालमा भएको सुत्केरी र नवजात शिशुको मृत्युको विषयलाई लिएर तनावग्रस्त बनेको छ ।

सुत्केरी व्यथाले च्यापेपछि अस्पताल भर्ना गरिएको रंगेली–९ दोहमनाकी २५ वर्षीय रविना सरदार र उनीबाट जन्मिएका नवजात शिशुको सोमबार मृत्यु भएपछि मंगलबार (आज) दिउँसो अस्पतालमा तोडफोडको प्रयास गरिएको हो ।

सामान्य प्रसूतिमार्फत उनले दोस्रो सन्तानका रूपमा छोरा जन्माएकी थिइन् तर अस्पतालले मृत बच्चा जन्मिएको र त्यसपछि स्वास्थ्य अवस्था असामान्य बन्दै गएर आमाको पनि मृत्यु भएको जानकारी दिएको छ ।

चिकित्सकको लापरबाहीले घटना भएको भन्दै अस्पताल अगाडि अहिले नाराबाजी र प्रदर्शन गरिरहेका आफन्त र परिवारका सदस्यले सुत्केरी र शिशुको शव बुझ्न अस्वीकार गर्दै मृत्युको वास्तविक कारण पत्ता लगाएर दोषी चिकित्सकमाथि कारवाही हुनुपर्ने र आगामी दिनमा यस्तो गल्ती दोहोरिन नहुने माग राखेका छन् ।

सामान्य प्रसूतिमार्फत बच्चा जन्मिए पनि रक्तश्राव अत्याधिक भएर सुत्केरीको मृत्यु भएको बताउँदै अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा. अशोक ठाकुरले शवको पोस्टमार्टम गरेपछि मात्रै मृत्युको सबै कारण खुल्ने जानकारी दिए ।

प्रदर्शनका क्रममा अस्पतालमा तोडफोडको प्रयास भएपछि ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरेर सुरक्षा अवस्था कडा पारिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए ।

श्रीमतीको मृत्युको खबरर सुनेपछि वैदेशिक रोजगारीका लागि एक वर्षदेखि कतारमा रहेका रविनाका श्रीमान मनु सरदार नेपाल फर्किएका छन् । रविना र मनुका पहिलो सन्तान ७ वर्षका छोरा छ ।