शिक्षकले सुम्सुम्याएको भन्दै ४५ जना छात्राले दिए सामुहिक उजुरी

Newslaya Home

शिक्षकले सुम्सुम्याएको भन्दै ४५ जना छात्राले दिए सामुहिक उजुरी

मङ्गलबार ०६, फागुन २०७६

काठमाडौ । ललितपुरको चांपाथलीस्थित नारायण आधारभूत विद्यालयका छात्राहरुले आफुहरुलाई शिक्षकले सुम्सुम्याएको भन्दै सामुहिक उजुरी दिएका छन् ।

प्रधानाध्यापक सविता सिलवाललाई ‘केटीहरुमाथि अन्याय भएकोले छानविन गर्न’ भन्दै हस्तलिखित सामुहिक उजुरी दिएका हुन् ।

३, ४ र ५ कक्षामा पढ्ने छात्राहरुले दिएको उजुरीमा लेखिएको छ, ‘श्रीमान् प्रिन्सिपल, हामी केटीहरुमाथि अन्याय अत्याचार भएको छ। केटीहरुलाई ढाडमा सुम्सुम्याउने, छात्तितिर छुन आउने, विभिन्न अंगमा छुन आउने, नचाहिँदो व्यवहार गर्ने। हामी यस्तो समस्यामा परेका छौँ। हामी यस्तो अत्याचार सहन सक्दैनौँ। नन्द सरले हामीलाई नराम्रो व्यवहार गरेकाले तपाईंहरुले छानविन गरिदिन अनुरोध गर्दछौँ।’

आरोपित शिक्षक नन्दप्रसाद निरौला उक्त विद्यालयमा कक्षा ५ सम्म सामाजिक विषय पढाउँछन्।

उजुरीको अघिल्लो पृष्ठमा १९ जनाले र पछिल्लो पृष्ठमा २६ छात्राले हस्ताक्षर गरेका छन्। छात्रा सबै १३ वर्ष मुनीका छन्।

छात्राहरुको उजुरीपछि आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राख्यो। गत आइतबारसम्म पीडित पक्षको जाहेरी नपरेको भन्दै हाजिरी जमानीमा प्रहरीले निरौलालाई छाड्यो।