कक्षा ९ र १० बाट हट्यो ऐच्छिक गणित

Newslaya Home

कक्षा ९ र १० बाट हट्यो ऐच्छिक गणित

सोमबार ०५, फागुन २०७६

काठमाडौं । माध्यामिक तहको परिमार्जित पाठ्यक्रमअनुसार कक्षा ९ र १० बाट ऐच्छिक गणित विषय हटाइएको छ । पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी यसअघि पाठ्यक्रममा रहेको ऐच्छिक गणित विषयलाई हटाएको हो ।

ऐच्छिक गणित विषय हटेसँगै अतिरिक्त अंग्रेजी विषय थप भएको छ । त्यसबाहेक अन्य केही विषय नाम र केही विषयवस्तु परिमार्जन भएर आएका छन् भने केही थपघट भएका छन् । थपिएको अतिरिक्त अंग्रेजी विषय भने कक्षा ९ मा मात्रै पढाई हुनेछ ।

पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरका अनुसार कक्षा ९ का लागि ११ वटा ऐच्छिक विषय छनोट गरिएको छ । जुन आगामी २०७७ सालदेखि नै देशैभर अनिवार्य रुपमा लागू हुनेछन् ।

नयाँ तय गरिएका विषय अन्तर्गत कक्षा ९ मा इतिहास, भूगोल, नागरिकशास्त्र, समाजशास्त्र, शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा, जनसंख्या शिक्षा, अतिरिक्त अंग्रेजी, लेखा परीक्षण, वातावरण विज्ञान र कम्प्युटर विज्ञान छन् ।

त्यस्तै कक्षा १० मा इतिहास, भूगोल, नागरिकशास्त्र, समाजशास्त्र, शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा, जनसंख्या शिक्षा, वातावरण विज्ञान र कम्प्युटर विज्ञान रहेका छन् । कक्षा १० मा ७ वटा मात्रै अतिरिक्त विषय राखिएको छ ।

यो सँगै आगामी शैक्षिक वर्षदेखि कक्षा ९ र १० को पूर्णाङ्क पनि ८०० बाट ७०० मा झारिने भएको छ ।

जसमा ५ वटा विषय अनिवार्य र २ वटा ऐच्छिक रहनेछन् । यसमा सम्बन्धित स्थानीय तहले आफू अनुकुल एउटा विषय थप्न सक्नेछन् ।

लामो समयदेखि माध्यामिक तहको पाठ्यक्रम परिमार्जन भएको थिएन । नियमअनुसार प्रत्येक ५–५ वर्षमा पाठ्यक्रम परिमार्जन गर्नुपर्ने भए पनि २०६४ सालयता पाठ्यक्रम परिमार्जन हुन सकेको थिएन ।

केन्द्रकी पाठ्यक्रम अधिकृत चिनाकुमारी निरौलाका अनुसार परिवर्तित र समसामयिक सन्दर्भसमेतका आधारमा तय गरिएको ऐच्छिक विषयका पाठ्यक्रम आगामी शैक्षिक सत्रमा देशैभर लागू गराउनुपर्नेछ ।

कक्षा ११ र १२ बाट पनि गणित विषय हटाइएको छ । आगामी शैक्षिक सत्रमा लागू हुने ११ र १२ कक्षाको पाठ्यक्रमबाट गणित विषय हटाइएपछि यसको त विरोध नै हुन थालेको छ ।

तर पाठ्यक्रम विकास केन्द्रले भने ११ र १२ को ऐच्छिक विषयको तालिका सार्वजनिक गरिनसकेका कारण हटाउने भन्ने कुराको आधिकारिकता नभएको एक अधिकारीले बताए ।