महराविरुद्धको फैसला आज हुने

Newslaya Home

महराविरुद्धको फैसला आज हुने

सोमबार ०५, फागुन २०७६

काठमाडौं । कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाको निर्णय सोमबार (आज) हुने भएको छ। काठमाडौं जिल्ला अदालतले आइतबार बहस सकिए पनि समय अभावको कारण देखाउँदै सोमबारका लागि सारिएको थियो।

आइतबार बिहानैदेखि महरामाथि लागेको अभियोगमाथि वकिलले बहस गरेका थिए। सरकारी पक्षका वकिलको बहस सकिएपछि महरा पक्षका वकिलले बहस गरेका थिए।

यसअघि पुस ३ गते महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतले सदर गरेको थियो । तर, उच्च अदालतले एक महिनाभित्र मुद्दाको टुंगो लगाउन जिल्लालाई निर्देशनात्मक आदेशसमेत दिएको थियो।

संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो। महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई बलात्कार गरेमा सात वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ।