‘भोका सन्तानको पेट भर्न २४० रुपैयाँमा कपाल बेचेँ’

Newslaya Home

‘भोका सन्तानको पेट भर्न २४० रुपैयाँमा कपाल बेचेँ’

सोमबार ०५, फागुन २०७६

बिबिसि । आफ्ना साना सन्तानको पेट भर्नका लागि लागि १५० भारतीय रुपैयाँ (नेरु २४०) मा कपाल बेचेको दिन प्रेमा सेल्भमको जीवनको सबैभन्दा खराब दिन थियो।

तीन सन्तानकी आमा सेल्भमले श्रीमान् पहिल्यै गुमाइसकेकी थिइन्। बढ्दो ऋण र असफल सपनाका कारण उनका श्रीमान्‌ले आत्महत्या गरे।

तर त्यति भए पनि उनीसँग आशा बाँकी नै थियो।

आफ्नो कपाल बेचिसकेपछि साहुको ऋण तिर्न वा खानेकुराको जोहो गर्न अब थप सम्भावना बाँकी रहेन भन्ने बोध उनलाई भयो।

तर त्यसपछि के भयो भन्ने कुराले सबैलाई प्रेरित गर्छ।

ऋणको जाल
मृत्यु हुनुअघि सेल्भम र उनका पतिले भारतको दक्षिणी राज्य तालिमनाडुको एउटा इँटाभट्टामा काम गर्थे।

त्यो कमाइले केवल उनीहरूको साना बालबच्चासहितको परिवार पाल्न मात्रै काफी हुन्थ्यो। उनीहरूले जीवनमा त्योभन्दा बढी चाहे।

आफ्नै इँटाभट्टा खोल्नका लागि उनका श्रीमान्‌ले ऋण लिए। तर योजना अनुसार सफल भएनन्।

निराश भएर गत वर्ष उनले आत्महत्या गरे। त्यसपछि ऋणको पूरा भार सेल्भममाथि आइलाग्यो।

तीन सन्तानको पालनपोषण मात्रै नभई असफल भएको व्यापारका लागि लिइएको पैसा गर्ने दबाबमा पनि उनी परिन्।

‘काम गर्न जाँदा म दिनको दुई सय रुपैयाँ पाउँछु जुन परिवार चलाउनका लागि पर्याप्त हुँदैन,’ सेल्भमले बीबीसीसँग भनिन्।

त्यसपछि उनी बिरामी भइन्। उनले पहिले जति कमाउन सकिनन्।

‘म इँटाको गह्रुँगो भारी बोक्न सक्दिनँ। ज्वरोले गर्दा म धेरै समय घरमै बसेँ।’

विकल्परहित अवस्था
उनी तीन महिनाका लागि बिरामी भइन्। तिर्नुपर्ने ऋण धेरै भयो र खानेकुराका भाँडा रित्तियो।

‘मेरो सात वर्षको छोराले एक दिन स्कुलबाट आएर खानेकुरा माग्यो,’ उनी भन्छिन्।

‘त्यसपछि भोक लाग्यो भनेर रुन थाल्यो।’

सेल्भमसँग बेचेर पैसा आउने केही थिएन।

‘मसँग १० रुपैयाँ पनि थिएन। केही प्लास्टिकका बाल्टी मात्रै थिए।’

‘कपाल किन्ने गरेको एउटा पसल सम्झिएँ,’ सेल्भमले भनिन्।

विश्व बजारमा मानिसको कपाल निर्यात गर्ने भारत एउटा मुख्य निर्यातकर्ता हो।

केही हिन्दु धर्मावलम्बीहरू मन्दिरमा आफ्नो मनोकामना पूरा भएको ठानेपछि कपाल खौरिन्छन्।

‘म त्यही पसलमा गएँ र १५० रुपैयाँमा पूरै कपाल बेचेँ।’

त्यो पैसा त्यति धेरै नलाग्न सक्छ। त्यति पैसाले एउटा ठूलो सहरको रेस्टुराँमा केवल एक छाक खाना खान पुग्ला।

तर सेल्भमको गाउँमा भने उनले त्यति पैसामा धेरै कुरा किन्न सकिन्छ।

‘मैले तीनजना बच्चाका लागि २० रुपैयाँ पर्ने प्याकेटमा भएको पाकेको भात किनेँ,’ उनले भनिन्।

तर त्यस्तो राहत अस्थायी थियो। सेल्भमसँग अब अरू केही विकल्प थिएन।