हाइटीको एक अनाथालयमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु

Newslaya Home

हाइटीको एक अनाथालयमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु

शनिबार ०३, फागुन २०७६

काठमाडौं । हाइटीको एक अनाथालयमा आगलागी हुँदा १५ जना बालबालिकाको मृत्यु भएको छ ।

राजधानी पोर्ट औ प्रिन्सको दक्षिणी क्षेत्रमा पर्ने अनाथालयमा आगलागी हुँदा दुई जनाको जलेर र १३ जनाको धुँवाका कारण निसास्सिएर मृत्यु भएको बीबीसीले जनाएको छ ।

१३ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । स्थानीय इन्स्टिच्युट फर सोसियल वेलफेयरका निर्देशक एरिएल जोन्टी भिल्ड्रेनले अनुमति बिनै सञ्चालन गरिएको अनाथालयमा आगलागीका बेला ६० जना बालबालिका रहेको जानकारी दिए । बाँकी ४५ जनाको परिवारको खोजी गरेर जिम्मा लगाउने तयारी गरिएको छ ।

धर्मको प्रचार गर्दै आएको अमेरिकाको पेन्सिल्भानियामा रहेको चर्च अफ बाइबाल अण्डरस्ट्याण्डिङ नामक संस्थाले अनुमति बिनै सञ्चालन गरेको अनाथालयमा आगलागी भएको हो । आगलागिको कारण खुलेको छैन ।