रेशम चौधरीलाई रिहाईको माग गर्दै कैलालीमा सडक अवरुद्ध

Newslaya Home

रेशम चौधरीलाई रिहाईको माग गर्दै कैलालीमा सडक अवरुद्ध

शुक्रबार ०२, फागुन २०७६

कैलाली । थरुहट थारुवान राष्ट्रिय मोर्चाले शुक्रबार धनगढीमा सडक अवरुद्ध गरेका छन् । रेशमलाल चौधरीसहित ११ जना कैदीबन्दीलाई रिहाइको माग गर्दै मोर्चाले धनगढीको क्याम्पस रोडमा आधा घण्टा सडक अवरुद्ध गरेका हुन् ।

शनिबार सोही ठाउँमा तीन घण्टा चक्काजाम गरिने मोर्चाका माधव थारुले बताए । उनले माग पूरा नभएसम्म आन्दोलन निरन्तर जारी रहने उल्लेख गरे ।

उनले टीकापुर घटनाको झूठा मुद्दा लगाएर आजीवन कैद सजाय सुनाइएका रेशम चौधरीसहित ११ जना कैदीबन्दीलाई तुरुन्त रिहाइ गर्नुपर्ने बताए ।

मोर्चाले टीकापुर मुद्दा खारेज गर्नुपर्ने, टीकापुर घटनाको छानबिनका लागि गिरीशचन्द्र लालको नेतृत्वमा गठित छानबिन आयोग र देविराम शर्माको नेतृत्वमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरेको छ । उनीहरुले संविधान संशोधन गर्नुपर्ने समेत माग गरेका छन् ।

यस्तै, भदौ ७ गतेको टीकापुर घटनाको प्रतिशोधमा भदौ ८ गते थारु समुदायको घर, व्यापारिक प्रतिष्ठानलगायतमा आगजानी, तोडफोड र लुटपाट गर्ने दोषीलाई कानुनी कारबाही गर्नुपर्ने माग अगाडि सारेको छ ।

टीकापुर घटना राजनीतिक भएकाले यसको समाधान राजनीतिक रुपमा नै हुनुपर्ने मोर्चाको माग छ । माग पूरा गराउनका लागि मोर्चाका केन्द्रीय अध्यक्ष लक्ष्मण थारुले धनगढीको क्याम्पस रोडमा आमरण अनशन पनि थालेका छन् ।