कोरोनाभाइरस : रोग फैलिने त्रासमा पाँच देशले रोक्न नदिएको पानीजहाजलाई क्याम्बोडियामा स्वागत

Newslaya Home

कोरोनाभाइरस : रोग फैलिने त्रासमा पाँच देशले रोक्न नदिएको पानीजहाजलाई क्याम्बोडियामा स्वागत

शुक्रबार ०२, फागुन २०७६

बिबिसि । जापान र ताईवानसहित पाँच समृद्ध एशियाली देशले आफ्ना बन्दरगाहमा आउन रोक लगाएको एउटा क्रूज पानीजहाजका यात्रुलाई क्याम्बोडियाका प्रधानमन्त्री हुन सेनले फूलका गुच्छा र परम्परागत पछ्यौरा उपहार दिँदै स्वागत गरेका छन् ।

एमएस वेस्टर्ड्याम नाम गरेको पानीजहाजलाई एशियाका पाँच बन्दरगाहमा रोकिन अनुमति दिइएको थिएन । त्यसलाई सिँहानुकभिल बन्दरगाहमा आउन दिएपछि अहिले क्याम्बोडियाका प्रधानमन्त्रीको सर्वत्र प्रशंसा भइरहेको छ ।

त्यसअघि त्यो पानीजहाजलाई क्याम्बोडियाको भन्दा राम्रो स्वास्थ्यप्रणाली भएका जापान, ताइवान र थाईल्यान्ड, द फिलिपिन्स र गुआमजस्ता राष्ट्रले आफ्नो बन्दरगाहमा आउन दिएका थिएनन् ।
क्याम्बोडियाको स्वास्थ्य मन्त्रालयले त्यो पानीजहाजमा रहेका २,००० यात्रु मध्येबाट २० जनाको नमुना जाँच गरेको छ। ती मध्ये कसैमा पनि कोरोनाभाइरसको सङ्क्रमण नभएको बताइएको छ।

क्याम्बोडिया आइपुगेका पानीजहाजका यात्रुलाई आगामी दिनमा भाडामा लिइने विशेष विमानबाट आफ्ना देश पठाउने योजना बनाइएको छ ।

पछिल्लो विवरणअनुसार नयाँ कोरोनाभाइरस सङ्क्रमणको कुल सङख्या फेब्रुअरी १३ तारिखसम्ममा ५५,००० नाघिसकेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।