सप्तरीमा मुस्लिम धार्मिकसभा रोक्न गृह मन्त्रालयको आदेश

Newslaya Home

सप्तरीमा मुस्लिम धार्मिकसभा रोक्न गृह मन्त्रालयको आदेश

शुक्रबार ०२, फागुन २०७६

सप्तरी । सप्तरीमा मुस्लिम समुदायले गर्न लागेको धार्मिक सभा अगाडि नबढाउन गृह मन्त्रालयले आदेश दिएको छ । आयोजकले प्रतिवद्वता पूरा नगरेको भन्दै मुस्लिम समुदायको धार्मिक सभामाथि मन्त्रालयले रोक लगाएको हो ।

धार्मिक सभामा नेपालसहित भारतका मात्रै मुस्लिम धर्माम्बलीको सहभागिता हुने बताइए पनि विश्वका धेरै देशका मुस्लिम धर्मावलम्बीहरुको सहभागिता गराइएको भन्दै गृह मन्त्रालयले कार्यक्रम नगर्न भनेको जनाइएको छ ।

गृह मन्त्रालयले बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरीलाई पत्राचार गरी कार्यक्रम स्थगित गर्न भनेको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिएका छन् ।

गृह मन्त्रालयले कार्यक्रम स्थगन गर्ने आदेश दिएपछि सम्भावित दुर्घटना हुन नदिन प्रशासनले बोदे बर्साइन नगरपालिकाको जाँजरमा ठूलो संख्यामा प्रहरी खटाएको छ ।

सप्तरीको बोदे बर्साइन नगरपालिकामा आगामी फागुन ३ गतेदेखि ५ गतेसम्म यो धार्मिक सभाको आयोजना गरिने तयारी थियो । यसका निम्ति सबै तयारी पूरा भइसकेको आयोजक समितिले बताएको छ ।