अमेरिकाले लगायो हुवावेमाथि चोरीको आरोप

Newslaya Home

अमेरिकाले लगायो हुवावेमाथि चोरीको आरोप

शुक्रबार ०२, फागुन २०७६

काठमाडौं । अमेरिकी सरकारले चीनको प्रविधि कम्पनी हुवावे र कम्पनीका वित्तीय अधिकारी मेङ्ग वानझाउमाथि कानुन भङ्ग गरेको र अमेरिकी कम्पनीको ‘ट्रेड सेक्रेट’ व्यापार गोप्यता चोरेको आरोप लगाएको छ ।
हुवावेका वित्तीय अधिकारी वानझाउ क्यानडामा गिरफ्तार गरिएको थियो र अमेरिका उनको प्रत्यर्पण गर्न चाहन्छ ।

हुवावेमाथि राउटर सोर्स कोड, मोबाइल फोनको एन्टिनाको प्रविधि र रोबोटिक्ससँग जोडिएको गोप्य जानकारी चोरेको आरोप लगाइएको छ ।

यसका साथै हुवावेमाथि उत्तर कोरिया र इरानसँग व्यापार गर्न खोजेको आरोप पनि छ, जसलाई अमेरिकाले प्रतिबन्ध लगाएको छ ।

अमेरिकी कङ्ग्रेसमा डेमाक्रेटिक पार्टीका नेता तथा सिनेट इन्टिलिजेन्स कमिटीका उपाध्यक्ष मार्क वार्नरले भने, ‘हुवावेले व्यापार मात्र नभइ राष्ट्रिय सुरक्षालाई खतरामा पारेको यो अर्को सबुत हो । यो कम्पनी फाइभ जी (५जी) वायरलेस प्रविधिमा काम गरिरहेको छ र यसले विश्वमा २० प्रतिशत बजार ओगट्न सक्छ । यसले अमेरिकी बजारको हिस्सा ओगट्दैन तर हाम्रो छिमेकी देशले यसको प्रयोग गरे भने हामी कसरी सुरक्षित हुन सक्छौँ ?’

‘न्याय विभागले यसतर्फ ध्यान दिएकोमा मलाई खुशी लागेको छ । तर सस्तो र प्रभावकारी ५जी प्रविधिको लागि दोस्रो देशहरुलाई एक गुट पनि बनाउन सकिन्छ ।’

यद्यपि हुवावेले भने आफूमाथि लागेको आरोपको लगातार अस्वीकार गर्दै आइरहेको छ ।