खाँदबारी कारागारमा क्षमता भन्दा तेब्बर कैदी बन्दी

Newslaya Home

खाँदबारी कारागारमा क्षमता भन्दा तेब्बर कैदी बन्दी

शुक्रबार ०२, फागुन २०७६

संखुवासभा । २५ जनाको क्षमता भएको जिल्ला कारागार खाँदबारीमा ११३ जना कैदी बन्दी राखिएको छ । कारागारमा क्षमता भन्दा बढी कैदी राख्दा समस्या भएको खाँदबारी कारागारका प्रमुख जेलर विनोद अधिकारीले जानकारी दिए ।

खाँदबारी कारागार ३.५ रोपनी क्षेत्रफल फैलिएको छ । उनीहरूको व्यक्तित्व विकास, सीप विकास तथा कला विकासका लागि प्रयाप्त ठाउँ नभएको उनको भनाइ छ । क्षमताभन्दा बढी संख्यामा कैदी भएकाले दैनिक क्रियाकलाप खान, बस्ने र शौच गर्नसमेत कठिन भएको कैदीहरूको गुनासो छ ।

कारागारमा १०६ पुरुष र ७ जना महिला कैदी बन्दी छन् । कैदी बन्दीहरू कारागारभित्र पुगेपछि मानवीय व्यवहार पाउनुपर्ने भए पनि त्यसअनुरुप सुविधा दिन सक्ने अवस्था नभएको जेलर अधिकारीले बताए । क्षमता भन्दा तेब्बर कैदी बन्दी राखिएको खाँदबारी कारागारमा उनीहरूको सुधार गृहभन्दा पनि यातना स्थल भएको देखिन्छ ।

भौतिक संरचना प्रयाप्त नहुदाँ कैदीहरुले बर्षा याममा पानी चुहिने छाप्रोमा खाना पाकएर खानुपर्ने अवस्था भएको कैदीको गुनासो छ । कारागारको सुधार तथा क्षमता वृद्धि गर्नका लागि माथिल्लो सरोकारवाला निकायलाई पटक–पटक अनुरोध गरे पनि बेवास्था गरिएको जेलर अधिकारी बताए ।

उनका अनुसार कारागारमा आपतकालीन अवस्था आएमा तत्कालै उद्धार तथा सुरक्षा दिनसमेत कठिन रहेको छ । कारागारको माथिको साइडमा बजार भएकाले भवन निर्माण भएका छन् भने तलतिरको साइड भिरालो र व्यक्तिको जमिन भएकाले सडक पुर्‍याउने सकिएको छैन । आपतविपद् पर्दा उद्धारमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका गाडी पुग्न सक्ने सडकसमेत नभएको जिल्ला कारागार खाँदबारीले जनाएको छ।