कोरोनाको आशंकामा अस्पताल भर्ना भएका तीन जना डिस्चार्ज

Newslaya Home

कोरोनाको आशंकामा अस्पताल भर्ना भएका तीन जना डिस्चार्ज

बिहीबार ०१, फागुन २०७६

काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलमा भर्ना भएका तीन जना बिहीबार डिस्चार्ज भएका छन् ।

कोरोना भाइरसको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आज डिस्चार्ज गरिएको शुक्रराज अस्पतालका प्रवक्ता डाक्टर अनुप बास्तोलाले जानकारी दिए ।

चीनबाट नेपाल आएका एकजना चिनियाँ नागरिक र दुईजना नेपालीलाई कोरोना भाइरसको आशंकामा शुक्रराज अस्पतलमा आइसोलेसनमा निगरानीमा राखिएको थियो । उनीहरुको स्वास्थ्य परीक्षणमा कोरोना नभएको पुष्टि भएपछि अस्पतालले डिस्चार्ज गरेको हो ।

ती तीन जनाको परीक्षणसँगै नेपालमा कोरोना भाइरसको आशंकामा स्वास्थ्य परीक्षण गराइएकाको संख्या २३ पुगेको अस्पतालले जनाएको छ । २३ जनामध्ये एकजनामा मात्र कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना पोजेटिभ देखिएका ती व्यक्तिको पनि पछिल्लो पटक गरिएको परीक्षणमा कोरोना नेगेटिभ भएको स्वास्थ्य मन्त्रालयले दावी गरेको छ ।