राष्ट्रिय गौरवको हुलाकी राजमार्ग स्तरोन्नति गरिँदै

Newslaya Home

राष्ट्रिय गौरवको हुलाकी राजमार्ग स्तरोन्नति गरिँदै

बिहीबार ०१, फागुन २०७६

काठमाडौं । कैलाली जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको हुलाकी राजमार्गको स्तरोन्नति सुरु गरिएको छ । भारत सरकारको अनुदान सहयोगमा कैलालीमा निर्माण पूरा गरिएको ‘एक लेन‘को हुलाकी राजमार्गलाई स्तरोन्नति गर्न प्रक्रिया शुरु गरिएको हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीले जनाएको छ ।

सो राजमार्गका अधिकांश ठाउँमा ‘दुई लेन‘ र शहरी क्षेत्रमा ‘चार लेन‘को सडक बनाउन लागिएको कार्यालयका इञ्जिनीयर पदमबहादुर मडैले बताए ।

धनगढीदेखि सत्तीसम्मको राजमार्गलाई दुई लेन बनाउन लागिएको धनगढी उपमहानगरपालिका क्षेत्रमा पर्ने यसको तीन किमी लामो सडक खण्डलाई भने चार लेनको बनाउन लागिएको छ ।

यस्तै लम्कीदेखि सत्ती (उत्तरदक्षिण) सम्मको हुलाकी राजमार्गको शहरी क्षेत्र लम्की र टीकापुरमा ‘चार लेन‘ र ग्रामीण क्षेत्रमा ‘दुई लेन‘ सडक बनाउन लागिएको छ । भारत सरकारको अनुदानमा कैलाली जिल्लामा हुलाकी राजमार्ग केही वर्षअघि नै निर्माण पूरा गरिएको थियो ।

कैलाली र कञ्चनपुरमा नेपाल सरकारद्वारा निर्माण गर्न लागिएको हुलाकी राजमार्ग ‘दुई लेन‘को हुने इञ्जिनीयर मडैले बताए ।

धनगढीदेखि सत्तीसम्मको ६२ किमी लामो हुलाकी राजमार्गमध्ये जिल्लाको कान्द्रा नदीदेखि कटनी पुलसम्मको (पूर्व–पश्चिम) १६ किलोमिटर लामो भागमा यो राजमार्ग हाल निर्माणाधीन छ ।