धुर्मुस सुन्तलीको रंगशालाको लागि विश्वआदर्शका विद्यार्थीको सहयोग

Newslaya Home

धुर्मुस सुन्तलीको रंगशालाको लागि विश्वआदर्शका विद्यार्थीको सहयोग

बिहीबार ०१, फागुन २०७६

इटहरी । धुर्मुस सुन्तली फाण्डेशनले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि इटहरीस्थित विश्व आदर्श एकेडेमीका विद्यार्थीहरुले सहयोग गर्ने भएका छन् ।

उनीहरुले रंगशालाको सहयोगको लागि एक साताको समय लगाएर गौतमबुद्ध, थान्का, मन्दिर र रंगशालासहितको मोडल बनाएका छन् ।

एकेडेमीले आयोजना गरेको विज्ञान प्रदर्शनी तथा वार्षिकोत्सव कार्यक्रममा उक्त मोडल प्रदर्शनमा राखिएको थियो ।

रंगशाला निर्माणका लागि सहयोग संकलन गर्न डेमो बनाएको उपमा काफ्लेले जानकारी दिइन् । जनस्तरको सहयोगबाट बनिरहेको उक्त रंगशालाको डिपिआर हेरेर मोडल बनाएको उनले बताइन् ।

रंगशालामा नेपालको विशेषता देखाउनेगरी संरचना बनाएको रचना खड्काले जानकारी दिइन् । रंगशालाको डेमोसँगै उनीहरुले दान बक्ससमेत राखेका छन् । बक्समा संकलन भएको पैसा फाउण्डेशनलाई पठाइदिने उनले जानकारी दिइन् ।

विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा प्रोत्साहित गर्ने र एउटा सक्षम नागरिक बनाउने योजना अनुसार आफूहरुले अतिरिक्त क्रियाकलापको विषयमा जोड दिएको स्कुलका अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिए ।