नेपाली विद्यार्थीलाई लिन शनिबार चीन जाँदै निगमको वाइडबडी

Newslaya Home

नेपाली विद्यार्थीलाई लिन शनिबार चीन जाँदै निगमको वाइडबडी

बिहीबार ०१, फागुन २०७६

काठमाडौं । सरकारले कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको वाइडबडी ए–३३० विमान शनिबार चीन पठाउने तयारी गरेको छ ।

चीनमा कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि स्वदेश फर्कने नेपालीलाई विमानमार्फत ल्याउने सम्बन्धमा गत आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका पदाधिकारीबीच छलफल भएको थियो । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना प्रभावित चीनको हुबेई प्रान्तस्थित वुहान शहरमा रहेका १ सय ८० नेपाली विद्यार्थी लगायतलाई फिर्ता ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी विमान शनिबार दिउँसो पौने ३ बजे काठमाडौंबाट उड्ने भएको छ ।

चीनबाट फर्केको जहाज राति सवा २ बजे त्रिभुुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ । उक्त जहाजमा नेपाल वायुसेवा निगमका तीन जना पाइलट, ६ जना क्याबिन क्रू, १ जना इन्जिनियर, १ जना प्राविधिक, १ जना फ्लाइट डिस्प्याचर, १ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहनेछन् ।

नेपाली सेना र स्वास्थ्य मन्त्रालयका चिकित्सकले बुधबार निगमको केन्द्रीय कार्यालयमा चीन जाने टोलीसहित निगमको विमानस्थलमा रहेका कर्मचारीहरुलाई तालिमसमेत दिएको छ भने विमानस्थलमा कार्यरत कर्मचारीलाई आज तालिम दिँइदै छ । उक्त उडानपछि जहाज र चालकदल लगायतका निगमका कर्मचारीलाई कति घन्टा क्वारेन्टाइनमा राख्‍नेबारे सरकारले कुनै निर्णय गरेको छैन ।

वुहान जाने वाइडबडी जहाजको ग्राउन्ड ह्याण्डलिंङ गर्न परराष्ट्र मन्त्रालयले त्यहाँको ग्राउन्ड एक्सप्रेस लिमिटेडलाई तोकेको जनाइएको छ । जहाजको ग्राउन्ड ह्याण्डलिंङको रकम भने खुलाइएको छैन ।