जेष्ठ नागरिकलाई ‘प्रोत्साहन भत्ता’ दिइने प्रदेश एकको घोषणा

Newslaya Home

जेष्ठ नागरिकलाई ‘प्रोत्साहन भत्ता’ दिइने प्रदेश एकको घोषणा

बुधबार २९, माघ २०७६

विराटनगर । एक नम्बर प्रदेश सरकारले ९० वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई ‘प्रोत्साहन भत्ता’ दिने घोषणा गरेको छ ।

बुधबार विराटनगरमा आयोजित एक कार्यक्रममा एक सय वर्ष नाघेका चार जना जेष्ठ नागरिकलाई प्रोत्साहन भत्ता तथा सम्मान गर्दै मुख्यमन्त्री शेरधन राईले ‘प्रोत्साहन भत्ता वितरण’ कार्यक्रमको शुभारम्भ गरेका हुन् । 

जेष्ठ नागरिकको अनुभव, ज्ञान र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गरे मात्र समृद्धि सम्भव हुने बताउँदै मुख्यमन्त्री राईले प्रदेश सरकारले जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षाका लागि ५ हजार रुपैयाँ ‘प्रोत्साहन भत्ता’ प्रदान गरिने जानकारी दिए ।

उक्त कार्यक्रममा प्रदेश नम्बर एकका सामाजिक विकासमन्त्री जीवन घिमिरेले जेष्ठ नागरिकहरुका लागि प्रदेश नम्बर एकमा जेष्ठ नागरिक ग्राम बनाउन लागिएको बताए ।

प्रदेश सरकारले यस आर्थिक वर्षको बजेटमा ९० वर्ष उमेर पुगेका नागरिकहरुको तथ्याङ्क संकलन गरि नगदसहित सम्मान गर्ने घोषणा गरेको थियो । सम्बन्धित जेष्ठ नागरिकहरुलाई सम्बन्धित पालिकाबाट नै प्रोत्साहन भत्ता प्रदान गर्ने गरी रकम पठाइसकिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।