कोरोनाभाइरसको त्रासले एक भारतीय नागरिकले गरे आत्महत्या

Newslaya Home

कोरोनाभाइरसको त्रासले एक भारतीय नागरिकले गरे आत्महत्या

बुधबार २९, माघ २०७६

काठमाडौं । कोरोनाभाइरसको त्रासले एक भारतीय नागरिकले आत्महत्या गरेका छन् । आन्ध्रप्रदेशको चित्तुर जिल्लाका बालाकृष्णैयाले आफू कोरोनाभाइरस संक्रमित भएको आशंकामा आत्महत्या गरेको भारतीय समाचारमाध्यम आजतकले जनाएको छ ।

बालाकृष्णैयालाई आफू कोरोना संक्रमित रहेको, अब कुनै उपचार नभएको र रोग फैलने डरले उनले आत्महत्या गरेको परिवारले जनाएका छन् ।

५४ वर्षीय बालाकृष्णैयाले शनिबार रुइया सरकारी अस्पतालमा गएर चेकजांँच गराएका थिए । परीक्षणका क्रममा उनलाई यूरिनरी ट्रैक्ट इन्फेक्शन भएको पत्ता लाग्यो । कुराकानीकै क्रममा यो कोरोनाभाइरसको संक्रमणले हुन सक्ने चिकित्सकले बताएपछि उनले आत्महत्या गरेको बताइएको छ ।

बालाकृष्णैयाका छोराले आफूले बाबुलाई धेरै सम्झाउन कोसिस गरेको, उनलाई कोरोनाभाइरस संक्रमण नभएको बताएपछि शान्त भएको तर पछि यस्तो घटना भएको समाचारमाध्यमलाई जानकारी दिएका छन् ।