सिन्धुपाल्चोकमा रुघा, खोकी र ज्वरोको महामारी, कोरोना भाइरस भएको आशंका

Newslaya Home

सिन्धुपाल्चोकमा रुघा, खोकी र ज्वरोको महामारी, कोरोना भाइरस भएको आशंका

बुधबार २९, माघ २०७६

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ गुम्बागाउँमा रुघा, खोकी र ज्वरो भाइरलको रुपमा फैलिएको छ । गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार बिहान एक दर्जन रहेका बिरामी साझँसम्म १०० भन्दबढी पुगेका छन् ।

बिरामीको संख्या अत्यधिक बढिरहेको र कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत देखिएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए ।

उनले फेसबुमा लेखेका छन्, ‘बिहानसम्म १ दर्जनको संख्यामा रहेका बिरामी अहिले सॉझसम्म सय नॉघेको छ । बिरामीको संख्या बढिरहेको छ । रुघा, खोकी ज्वरोले भाइरलको रुप लिएको छ । कोरोना नहोस् तर यसका लक्षण मिल्दाजुल्दा भएकोले थप चनाखो हुनु पर्दछ भन्ने मात्र आग्रह हो हाम्रो ।’

जनशक्ति र साधनस्रोतले भ्याए सम्मको बिरामीहरूको सेवामा खटिरहेको उनले बताए । बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि सहयोगको लागि जिल्ला विपद व्यवस्थापन समिति, जिल्ला स्वास्थ्य कार्यलय, प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

थप औषधी र मास्क लगायतका सामाग्री संकलन गरिरहेको र आफू पनि संकलनमा खटिरहेको उनले बताए ।

कोरोना भाइरस नै भनेर नभनेको तर केरोनासँग मिल्दोजुल्दो लक्षण भएकोले साबधानी अपनाउन संबन्धित निकायमा पत्राचार गरेको उनले जनाए ।