उहानमा रहेका नेपाली विद्यार्थीलाई फागुन ३ गते स्वदेश ल्याइने

Newslaya Home

उहानमा रहेका नेपाली विद्यार्थीलाई फागुन ३ गते स्वदेश ल्याइने

मङ्गलबार २८, माघ २०७६

काठमाडौं । ‘कोरोना भाइरस’ प्रभावित चीनको उहानमा रहेका नेपाली विद्यार्थीलाई फागुन ३ गते स्वदेश ल्याइने भएको छ ।

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकबाट उक्त निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनीहरूलाई ल्याउन नेपाल एयरलाइन्सको ‘वाइडबडी’ विमान तयारी अवस्थामा राखिको छ । उक्त विमान २ सय ७८ यात्रु क्षमताको हो ।

उहानबाट ल्याइएका विद्यार्थीलाई भक्तपुरको खरिपाटीमा राख्ने तयारी गरिएको छ, जहाँ उनीहरूलाई १५ दिन ‘क्वारेन्टाइन’मा राखिनेछ । त्यसका लागि ४ वटा ब्लकमा १ सय ९९ वटा बेड तयार गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

शङ्‌कास्पद रूघाखोकी तथा ज्वरो आएका व्यक्तिलाई राख्नका लागि विभिन्न अस्पतालमा १ सय ४७ वटा ‘आइसोलेसन’ बेड तयार गरिएको छ ।

विद्यार्थीहरूको स्वास्थ्य परीक्षणका लागि नेपाली सेना, सशस्त्र प्रहरीसहितका चिकित्सक तथा नर्सको टोलीलाई तालिम दिएर तयारी अवस्थामा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।