इटहरीको राष्ट्रिय निमाविको चुनाव अनिश्चित, फर्जी मतदाता र आर्थिक हिनामिनाको आरोप

Newslaya Home

इटहरीको राष्ट्रिय निमाविको चुनाव अनिश्चित, फर्जी मतदाता र आर्थिक हिनामिनाको आरोप

मङ्गलबार २८, माघ २०७६

इटहरी । नेपालमा पार्टीगत राजनीतिबाट शिक्षा क्षेत्र पनि अछुतो छैन । त्यसको ज्वलन्त उदाहरण इटहरी १ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय बनेको छ । विद्यालय व्यवस्थापन समितिको चुनाव यतिखेर बिथोलिएको छ ।

चुनावमा धाँधली भएको भन्दै अभिभावकहरुले विरोध जनाएपछि गत माघ १७ गते रोकिएको चुनाव फेरी कहिले हुने भन्ने टुंगो हुन सकेको छैन । चुनावमा बद्नियत देखिएको भन्दै नेकपा निकट अविभावकहरुले विरोध जनाएका थिए । विरोधपछि उत्पन्न विवाद साम्य पार्न प्रहरी नै विद्यालय परिसर प्रवेश गरेको थियो ।

विद्यालयको वर्तमान व्यवस्थापन समितिले फर्जी मतदाता खडा गरेको आरोप लगाइएको छ । माघ ७ गते विद्यालय व्यवस्थापन छनौट सहयोग समितिको बैठकले एक दम्पती एक मतदान गर्ने निर्णय गरेको थियो । तर मतदाताको अन्तिम नामावली प्रकाशन गर्दा दलगत प्रभाव र व्यक्तिगत स्वार्थमा परी माघ १३ गते एक दम्पतीको २ देखि ५ जनासम्म विद्यार्थी र सोही संख्यामा मतदाताको नामावली प्रकाशन गरेको अविभावक दलबहादुर मगरले न्युजलयलाई बताए ।

बैठकको सहमतीअनुसार कुनै परिवारको छोरा र छोरी पढ्ने छन् भने एक जनाले मात्र मतदान गर्न पाउने हो । ‘तर नामावलीमा छ छोराको लागि बाबुवाई, छोरीको लागि आमालाई मतदाता बनाइएको छ,’ उनले भने, ‘१०० बढी फर्जी मत भेटिएपछि चुनावमा धाँधली हुँदैछ भन्ने थाहा पायौं ।’

त्यसो त नयाँ व्यवस्थापन समितिको प्रक्रिया अगाडि बढाउने निर्णय नै सुरुमा लुकाइएको अविभावकहरुको आरोप छ । ‘नयाँ व्यवस्थापन समिति गठन हुनु पूर्व १५ दिन अगाडि नै अभिभावककोहरुको नामावली प्रकाशन गरी पत्र पठाउनु पर्नेमा कात्तिक २५ गते मात्र ४ दिनको म्याद राखेर अभिभावकहरुको नामावली प्रकाशन गरियो र पत्र पठाइयो ।’ असन्तुष्ट अविभावकहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

शिक्षा नियमावली विपरीत कार्य रोक्नको लागि अभिभावकहरुले गत असोज ७ गते इटहरी उपमहानगरपालिका शिक्षा शाखामा निवेदन दिएपछि कात्तिक २९ गते हुने भनिएको विद्यालय व्यवस्थापन समितिको निर्वाचन मिति रद्ध गरिएको थियो ।

त्यसपछि सोही शिक्षा शाखाले विद्यालय व्यवस्थापन समिति छनौट लागि संयोजक निर्मल ढुङ्गेल र मतदान अधिकृत फाल्गुनी काफ्लेलाई तोकी पठाएको थियो । उक्त टोलीले माघ ३ गतेलाई निर्वाचन मिति तोक्यो । यो मितिमा पनि निर्वाचन हुन नसकेपछि माघ १७ गतेलाई अर्को मिति तोकिएको थियो ।

यस्तै अभिभावकहरुले विद्यालयमा आर्थिक धाँधली भएकोसमेत आरोप लगाएका छन् । हिसाबकिताब देखाउन माग गर्दा नदेखाएको उनीहरुको गुनासो छ ।

‘मिति २०७६ पुस २० गते इटहरी उपमहानगरपालिका शिक्षा शाखामा राष्ट्रिय माध्यमिक विद्यालयको सार्वजनिक परिक्षण गराउनको लागि लिखित माग गरिएको थियो तर, हालसम्म सुसुचित हुन पाउने अधिकारबाट बन्चित छौं ।’ न्युजलयलाई प्राप्त विज्ञप्तिमा भनिएको छ ।

अभिभावकहरुले आफूहरुलाई विद्यालय व्यवस्थापन समितिले ढाँटेको आरोप समेत लगाएका छन् । उनीहरुले बाल विकास कक्षादेखि ५ कक्षासम्म अंग्रेजी माध्यमबाट पढाइ हुन्छ भनेको तर, अहिलेसम्म यस्तो किसिमले पढाइ नभएकोले आफू ढाँटिएको बताए । उनीहरुले भने–‘ विद्यालय प्रशासनले गैर जिम्मेवार व्यवहार गरिरहेको छ ।’