देशभरिकै न्यूनतम तापक्रम बढ्दै

Newslaya Home

देशभरिकै न्यूनतम तापक्रम बढ्दै

मङ्गलबार २८, माघ २०७६

काठमाडौं । देशका धेरै ठाउँमा चिसो कम हुँदै गएको छ । देशभरिकै न्यूनतम तापक्रम बढ्दै गएपछि चिसो कम हुँदै गएको हो ।

मङ्गलबार बिहान काठमाडौंको तापक्रम १ डिग्री सेल्सियसले बढेको छ । सोमबार २ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको मङ्गलबार बिहानको तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंको मङ्गलबार दिउँसोको तापक्रम १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ ।

यस्तै अबको तीन दिन देशभरिकै मौसम आंशिक बदली हुने मौसमविद्ले बताएका छन् । तत्काल पानी र हिउँ पार्ने प्रणाली सक्रिय नभएकाले अबको तीन दिन देशभरिकै मौसम आंशिक बदली हुने सम्भावना रहेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिइन् ।

उनका अनुसार पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली तथा बाँकी ठाउँको मौसम एकैछिन बादल लाग्दै घाम लाग्ने खालको हुनेछ ।