स्पेनिस ला लिगा : रियल बेटिसलाई हराउँदै बार्सिलोना विजयी

Newslaya Home

स्पेनिस ला लिगा : रियल बेटिसलाई हराउँदै बार्सिलोना विजयी

मङ्गलबार २८, माघ २०७६

काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसलाई ३–२ गोलले पराजित गरेको छ । निकै रोमाञ्चक खेलमा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै नतिजालाई आफ्नो पक्षमा पारेको हो ।

खेल सुरु भएको छैटौं मिनेटमै रियल बेटिसले अग्रता लिएको थियो । बेटिसका लागि सर्जियो कानालेसले पेनाल्टीमार्फत गोल गरेका थिए । त्यसको तीन मिनेटपछि बार्सिलोनाका लागि फ्रान्की डे जोङले जवाफी गोल फर्काए । २६औं मिनेटमा रियल बेटिसले पुनः अग्रता लियो । रियल बेटिसका लागि नाबिल फेकिरले दोस्रो गोल गरेका हुन् ।

पहिलो हाफको खेल सकिनुभन्दा ठिक अघि सर्जियो बसक्वेट्सले बार्सिलोनाका लागि जवाफी गोल गरे । खेल प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहँदा ७२औं मिनेटमा डिफेन्डर क्लिमेन्ट लेङ्लेटले बार्सिलोनाका लागि निर्णायक गोल गरेका थिए ।

खेलको अन्त्यतिर दुवै टोली १०÷१० खेलाडीमा समेटिएका थिए । ७६औं मिनेटमा रियल बेटिसका नाबिल फेकिर दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिए । ७९औं मिनेटमा बार्सिलोनाका लेङ्लेट पनि दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । त्यसअघि पाँचौं मिनेटमै लेङ्लेटले पहिलो कार्ड पाएका थिए ।

सहभागी सबै टोलीले २३ औं चरणको खेल खेलिसक्दा ५२ अंकसहित रियल म्याड्रिड पहिलो र ४९ अंकसहित बार्सिलोना दोस्रो स्थानमा छन् ।