कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार १६ पुग्यो, ४२ हजार ६३८ जना संक्रमित

Newslaya Home

कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार १६ पुग्यो, ४२ हजार ६३८ जना संक्रमित

मङ्गलबार २८, माघ २०७६

काठमाडौं । प्राणघातक कोरोना भाइसरका कारण ज्यान गुमाउनेको संख्या एक हजार १६ पुगेको छ ।

गएको २४ घण्टामा एक सय तीन जनाको ज्यान गएसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या एक हजार १६ पुगेको समाचार संस्था सीएनएनले जनाएको छ ।

मृत्यु हुनेमा एक हजार १४ जना चीनका र अन्य दुई जना चीन बाहिरका रहेका छन् । यस्तै कोरोनाबाट संक्रमित हुनेको संख्या ४२ हजार ६३८ पुगेको चीनको स्वास्थ्य विभागले जनाएको छ ।

भाइरसको संक्रमण शुरु भएको चीनको वुहानमा मात्रै ९७४ जनाको ज्यान गइसकेको छ भने ३१ हजार ७२८ जना संक्रमित छन् । यता विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को एउटा टोली सोमबार चीन पुगेको छ ।

अन्तर्राष्ट्रियस्तरका विज्ञहरुसहितको टोलीले मङ्गलबारदेखि उपचार, रोकथामका उपायहरुको काम थाल्ने सीएनएनले जनाएको छ । त्यस्तै तीन हजार ९९६ जना उपचारपछि पूर्णरुपमा निको भएर डिस्चार्ज गरिएको चीनले दाबी गरेको छ । ज्यान गुमाउनेको संख्या हजार नाघे पनि नयाँ मानिसमा संक्रमण हुने दर भने २० प्रतिशतले घटेको जनाइएको छ ।