‘दिलीपसिंह विष्ट’ नै निर्मला पन्तका हत्यारा

Newslaya Home

‘दिलीपसिंह विष्ट’ नै निर्मला पन्तका हत्यारा

सोमबार २७, माघ २०७६

काठमाडौ । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । प्रहरीले सुरुमै दोषी भनी सार्वजनिक गरेका दिलीपसिंह विष्टले नै हत्या गरेको प्रतिवेदन तयार भएको छ ।

प्रहरीले बनाएको एआइजी धीरू बस्नेत नेतृत्वको छानबिन समितिको प्रतिवेदन त्रुटीपूर्ण रहेको निष्कर्षसहित प्रहरी प्रधान कार्यालयले उक्त प्रतिवेदन कार्यान्वयन नगर्न कञ्चनपुर प्रहरीलाई निर्देशन दिएको छ ।

यो निर्देशनसँगै पन्त हत्यामा दिलीपसिंह विष्ट नै दोषी रहेको निष्कर्षसहितको प्रतिवेदन तयार गरेको छ । प्रहरी नायब महानिरीक्षक सुरज केसी नेतृत्वमा गठित पुनरावलोकन समितिले तयार गरेको उक्त नयाँ प्रतिवेदन कार्यान्वयन गरिने भएको छ । प्रतिवेदन कार्यान्वयनका लागि कन्चनपुर पठाइएको छ । तर कन्चनपुर प्रहरीले भने प्रतिवेदन पाइ नसकेको जनाएको छ ।

निकै लामो समयदेखि पन्तको हत्याराको खोजी भइरहेको थियो । प्रहरीले सुरुमा केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक अंगुर जिसी नेतृत्वमा बनाएको समितिले विष्टलाई नै दोषी किटान गरेको थियो । तर, बस्नेत प्रतिवेदनले सो प्रतिवेदन उल्टाएपछि उनै जिसी निलम्बनमा परेका थिए ।