पूर्वसचिवकी श्रीमती मुनाको हत्या कामदारले गरेको निष्कर्ष

Newslaya Home

पूर्वसचिवकी श्रीमती मुनाको हत्या कामदारले गरेको निष्कर्ष

सोमबार २७, माघ २०७६

काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्यामा घरकै कामदार विजय चौधरी संलग्न रहेको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।

प्रहरीले कार्कीको घरमा जडान गरिएको सिसिटिभी फुटेज अध्ययनपछि मुनाको हत्यामा चौधरी नै संलग्न रहेको निष्कर्ष निकालेको हो । उक्त सिसिटिभी फुटेजमा चौधरीले कार्कीलाई भान्सामा गएर लछारपछार पारी सुरूमा पिर्काले हानेको र पिर्का फुटेपछि भुइँमा धेरै पटक टाउको ठोक्काएको देखिएको प्रहरीले जनाएको छ ।

त्यसपछि चौधरीले आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष निकालिएको महानगरीय प्रहरी परिसर स्रोतले जनाएको छ । यद्यपि, घटनाबारे प्रहरीले औपचारिक रूपमा बताएको छैन । सानैदेखि कार्कीको घरमा कामदारको रूपमा राखिएका चौधरी र कार्कीबीचमा के विवाद थियो र हत्यासम्म भयो भन्ने पत्ता लागेको छैन ।

कार्कीले सोमबार बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएर फर्किँदा दुवैको शव फेला परेको बताएका छन् । कार्कीका एक छोरा र दुई छोरी रहेका छन् । दुवै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कूलमा अध्ययनरत छन् । घटनाको समय छोरा पनि स्कूल गएको र उनलाई पुर्याउन अर्की कामदार किशोरी पनि घरबाहिर रहेकी थिइन् ।