सप्तरीमा एक महिलालाई ज्युँदै जलाएर हत्या गर्ने प्रयास

Newslaya Home

सप्तरीमा एक महिलालाई ज्युँदै जलाएर हत्या गर्ने प्रयास

सोमबार २७, माघ २०७६

राजविराज । सप्तरीको राजविराजमा एक महिलालाई ज्युँदै जलाएर हत्या गर्ने प्रयास गरिएको छ ।

राजविराज–१५ की २० वर्षीया रेखादेवी शर्मालाई आगो लगाएर ज्यान मार्ने प्रयास गरेको आरोपमा उनका ससुरा ५५ वर्षीय परशुराम शर्मा पक्राउ परेका छन्। परशुरामलाई पक्राउ गरी आगो लगाइ ज्यान मार्ने उद्योगमा कारवाही भइरहेको प्रहरीले जनाएको छ ।

पीडितका अनुसार ससुरासहित सासु ५० वर्षीया द्रौपती शर्मा, जेठाजु ३५ वर्षीय खेमचन शर्मा र जेठानी ३२ वर्षीया रम्भादेवी शर्मासमेत योजनामा संलग्न छन्। रेखा आगोमा जलिरहँदा श्रीमान् रवीन्द्रबाहेक आरोपित सबै घरमै थिए।

आरोपितले आगो सल्काएर हत्या गर्ने योजनाअनुरूप आफूले लगाउने सारीमा पेट्रोल छर्केर राखिदिएको आरोप छ। काखमा रहेको शिशु बालिकालाई जोगाउन मिल्काएको र आँगनमै थुपारेको धानमा मडारिएर आगो निभाइ ज्यान जोगाएको उनले बताइन्। सामाजिक परम्पराअनुसार २०७५ फागुन २४ गते विवाहिता पीडितको साढे एक महिनाकी छोरी छन्।

आगोले रेखाको दायाँ खुट्टाको पूर्ण भाग जलेको छ भने शरीरको अन्य भागमा समेत जलेर घाउ भएको छ। हिँडडुल गर्न असमर्थ उनको अवस्था गम्भीर रहे पनि तीन दिनसम्म घरमै बन्धक बनाएर राखिएको थियो। असह्य पीडाको आवाज सुनेका छिमेकीले माइतमा खबर गरेपछि थाहा पाएर तीन दिनपछि गत आइतबार राजविराज ल्याई उपचार गराइरहेको पीडितकी आमा सरस्वती शर्माले बताइन्।

राजविराज नगरपालिका–६ स्थित माइतमा आश्रय लिएकी घाइतेको उपचार गजेन्द्रनारायण सिंह अस्पतालमा माइतिले गरिरहेको छ। घरपरिवारले समेत उपचारमा बेवास्ता गरेको र प्रहरीले परशुराम शर्माविरुद्ध मात्र उजुरी दर्ता गरेको जनाइएको छ ।