बेलायतका एक मेयर काँकरभिट्टा आउँदै

Newslaya Home

बेलायतका एक मेयर काँकरभिट्टा आउँदै

सोमबार २७, माघ २०७६

झापा । बेलायतको एक नगरका मेयर आउने भएपछि स्वागतका लागि काँकरभिट्टामा सरसफाइ गरिएको छ।

झापा जिल्ला ट्राभल्स एजेन्ट संघको आयोजनामा नेपाल प्रवेशको पूर्वी नाका सरसफाइ गरिएको हो । काँकरभिट्टाको क्याम्पसरोड, टाँसी छोयलिङ गुम्बा हुँदै काँकरभिट्टा खानेपानी परिसरसम्म सरसफाई गरिएको हो ।

सोमबार मेचीनगर नगरपालिकासँग भगिनी सम्बन्ध विस्तार गर्न आउने बेलायती टोलीलाई स्वागत गर्ने उद्देश्यले सरसफाई गरिएको झापा जिल्ला ट्राभल्स संघले जनाएको छ ।

बेलायतबाट फोक्स्टन टाउन नगरपालिकाका मेयर जेकीमोड, भगिनी सम्बन्ध विस्तार समितिका संयोजक धनकिरण गुरुङ, फोक्स्टन सिटीका उद्योग वाणिज्य संघका अध्यक्ष रेगोशन, आइटी इन्जिनियर ओलीबर विल्सन र भगिनी सम्बन्ध विस्तार समिति सचिव यो मेल्जोन झापाको मेचीनगर आउँदैछन् ।

सम्बन्ध विस्तार तथा भ्रमणका लागि आउने टोलीले सोमबार टाँसी छोयलिङ गुम्बा तथा काँकरभिट्टा खानेपानी सरसफाई तथा उपभोक्ता समितिको कार्यालयमा जाने कार्यक्रम छ ।

सरसफाइ कार्यक्रममा होटल व्यवसायी संघ काँकरभिट्टा, वडा कार्यालय मेचीनगर नगरपालिका ६, काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्था साथै स्थानीयबासीको सहभागिता रहेको थियो।