पूर्व सचिव कार्कीकी श्रीमतीको हत्या, कामदार समेत मृत फेला

Newslaya Home

पूर्व सचिव कार्कीकी श्रीमतीको हत्या, कामदार समेत मृत फेला

सोमबार २७, माघ २०७६

काठमाडौँ । पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती र कामदार सानेपास्थित आफ्नै घरमा मृत फेला परेका छन् ।

कार्कीकी श्रीमती मुना कार्कीको शव घरको भान्सा कोठामा रगतले लतपतिएको अवस्थामा फेला परेको छ भने घरमा कामदार रहेका दाङ घर भएका विजय चौधरीको शव पनि फेला परेको छ ।

चौधरीले भने आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । उनको शवका कुनै चोटपटक छैन भने उनको शव फेला परेको स्थानमाथि डोरी पनि झुण्डिएको भेटिएको छ ।

कार्कीले बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएर फर्किँदा दुवैको शव फेला परेको बताएका छन् । कार्कीका एक छोरा र दुई छोरी रहेका छन् । दुवै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कूलमा अध्ययनरत छन् । घटनाको समय छोरा पनि स्कूल गएको र उनलाई पुर्याउन अर्की कामदार किशोरी पनि घरबाहिर रहेकी थिइन् ।