पारासाईटले जित्यो ओस्कार २०२० को उत्कृष्ट चलचित्र अवार्ड

Newslaya Home

पारासाईटले जित्यो ओस्कार २०२० को उत्कृष्ट चलचित्र अवार्ड

सोमबार २७, माघ २०७६

काठमाण्डौ । ओस्कार अवार्डमा यो वर्ष दक्षिण कोरियन चलचित्र पारासाइट सर्वोत्कृष्ट चलचित्र ठहरिएको छ । बोङ्ग जून–होको निर्देशनमा बनेको चलचित्रले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको हो ।

सर्वोत्कृष्ट निर्देशकको अवार्ड पारासाइटका निर्देशक बोङ्गले नै जिते । सर्वोत्कृष्ट चलचित्रमा पारासाइटले १९१७, जोकर, वन्स अपअन अ टाइम इन हलिउड, लिटल वुमन, म्यारिज स्टोरी, द आइरिस म्यान, जोजो र्‍याबिट तथा फोर्ड भर्सेज फरारीलाई पछि पारेको हो ।

ओस्कारको इतिहासमा अंग्रेजी भाषा भन्दा बाहिरको चलचित्रले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको यो पहिलो पटक हो । पारासाइटले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय अर्थात अंग्रेजी भाषा भन्दा बाहिरको चलचित्रको अवार्ड पनि जितेको छ।

अमेरिकाको लस एन्जलसमा रहेको डल्बी थिएटरमा नेपाली समय अनुसार सोमबार बिहान भएको ९२ औँ संस्करणको ओस्कार अवार्डमा जोकरका लागि वाकिन फिनेक्सले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जिते ।