ललिता निवास प्रकरणका आरोपी ढकालको घरमा विष्फोट गराउने विप्लवका ७ कार्यकर्ता पक्राउ

Newslaya Home

ललिता निवास प्रकरणका आरोपी ढकालको घरमा विष्फोट गराउने विप्लवका ७ कार्यकर्ता पक्राउ

सोमबार २७, माघ २०७६

काठमाडौं । प्रहरीले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणका प्रमुख आरोपी शोभाकान्त ढकालको काठमाडौं जिल्ला, नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित ढुङ्गेधारा नर्सरी चोकमा रहेको घरमा बम विष्फोटमा संलग्न सात जना विप्लवका कार्यकर्तालाई पक्राउ गरेको छ ।

विप्लव माओवादीले माघ १० गते ढकालको निवासमा बम विष्फोट गराउनुको साथै बालुवाटारमा रहेको ललिता निवासको जग्गामा बम राखेको थियो ।

यसै घटनामा संलग्न भएको आरोपमा उनीहरूलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी सहकुल बहादुर थापाले उनीहरुलाई यही माघ २३, २४ र २६ गते राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको जानकारी दिए ।

पक्राउ पर्नेहरूमा दैलेख जिल्ला, नारायण नगरपालिका–११ का भिम अधिकारी, जिल्ला कास्की पोखरा महानगरपालिकाका विष्णु प्रसाद अधिकारी, रामेछाप, खाँडादेवी गाउँपालिका–१ घर भएका हरी चन्द्र खड्का रहेका छन् ।

यसैगरी घटनामा संलग्न भएको आरोपमा पक्राउ पर्ने अन्य चार जनाहरुमा गोरखा, भीमसेन थापा गाउँपालिकाका कपिल भट्ट, काठमाडौं गोकर्णेश्वर नगरपालिकाका दिनेश नगरकोटी, गोरखा जिल्ला सुलिकोट गाउँपालिकाका किकाश थापा तथा सिन्धूपाल्चोक जिल्ला जुग गाउँपालिकाका राज कुमार मगर रहेका छन् ।

उनीहरू सबै विपल्व नेतृत्वको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका कार्यकर्ता हुन् ।

प्रहरीले उनीहरूको साथबाट विभिन्न सामान र दस्तावेजहरु बरामद गरेको छ ।