सिड्नीमा ३० वर्ष यताकै ठूलो वर्षाका कारण यातायात अस्तव्यस्त, डढेलो निभ्यो

Newslaya Home

सिड्नीमा ३० वर्ष यताकै ठूलो वर्षाका कारण यातायात अस्तव्यस्त, डढेलो निभ्यो

सोमबार २७, माघ २०७६

बिबिसि । अस्ट्रेलियाको सिड्नी सहरमा ३० वर्षयताकै भीषण वर्षा भएको छ । वर्षापछि आएको बाढीका कारण त्यहाँ यातायात अस्तव्यस्त भएको तथा जनजीवन प्रभावित भएको छ ।

हजारौँ मानिस आफ्ना घर छाड्न बाध्य भएका छन् ।

सो क्षेत्रको मौसमसम्बन्धी निकायका अनुसार गत चार दिनमा त्यहाँ झन्डै ४०० मिलिमिटर पानी परेको छ । सो निकायले अचानक बाढी आउन सक्ने र त्यसले ज्यान जोखिममा पार्न सक्ने चेतावनी दिएको छ ।

झन्डै एक लाख घरमा बिजुली गएको छ ।

डढेलो निभ्दै
केही महिनायता न्यू साउथ वेल्स राज्यका ठाउँठाउँमा फैलिएको डढेलोलाई वर्षाले निभाइदिएको छ ।

विगत ७४ दिनदेखि स्वालहेवन नगरनजिकै फैलिरहेको करोवान नामक डढेलो पनि निभेको छ । उक्त डढेलोले ५०० हेक्टर क्षेत्रफल प्रभावित पार्दै ३१२ वटा घर नष्ट गरिदिएको थियो ।

मौसम विभागले डढेलो प्रभावित क्षेत्रहरू नै बाढीको बढ्ता खतरामा रहेका र तीव्र गतिमा बग्ने भेलले ठूलो परिमाणमा फोहोर बगाएर ल्याउने चेतावनी दिएको छ ।

हाल न्यू साउथ वेल्समा ३१ वटा छुट्टाछुट्टै डढेलो लागिरहेको थियो ।

भीषण वर्षाका कारण वर्षौँदेखि सुक्खा बेहोरिरहेको सो क्षेत्रमा पानीको आपूर्ति प्रणालीमा भरथेग भएको छ ।

सिड्नीको अधिकांश पानीको माग पूर्ति गर्ने वारागाम्बा बाँध ७० प्रतिशत भरिन लागेको बताइएको छ । गत सातामात्र त्यहाँ जम्मा ४२ प्रतिशत पानी भरिएको थियो ।