निर्मला हत्या प्रकरण : नयाँ प्रतिवेदनमा दिलीप नै दोषी

Newslaya Home

निर्मला हत्या प्रकरण : नयाँ प्रतिवेदनमा दिलीप नै दोषी

सोमबार २७, माघ २०७६

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या सम्बन्धमा एआईजी धिरु बस्न्यात नेतृत्वको छानबिन समितिले तयार पारेको प्रतिवेदन प्रहरी प्रधान कार्यालयले खारेज गर्दै नयाँ प्रतिवेदन कार्यान्वयनका लागि कञ्चनपुर प्रहरीलाई निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले दुईसाताअघि अर्का डीआईजी सुरज केसी नेतृत्वमा पुनरवलोकन समिति गठन गरेको थियो ।

उक्त समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्नका लागि कञ्चनपुर प्रहरीलाई निर्देशन दिइएको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापाले जानकारी दिए ।

प्रहरी उच्च स्रोतका अनुसार पछिल्लो प्रतिवेदनमा दिलीप सिंह विष्टलाई नै मुख्य दोषी देखाइएको छ ।

विष्ट नै मुख्य अभियुक्त रहेकाले अनुसन्धान प्रक्रिया अघि बढाउन निर्देशन दिइएको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले जनाएको छ ।

एआईजी बस्न्यात नेतृत्वमा २०७५ भदौ ३१ मा छानबिन समिति गठन गरिएको थियो ।

१३ वर्षीया बालिका पन्तको २०७५ साउन ११ गते उखुबारीमा बलात्कारपछि हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।