नुहाएर घाम ताप्न बसेका शिक्षकको मृत्यु

Newslaya Home

नुहाएर घाम ताप्न बसेका शिक्षकको मृत्यु

सोमबार २७, माघ २०७६

काठमाडौं । शनिबार नुहाएर घाम ताप्न बसेका एक जना शिक्षकको लडेर मृत्यु भएको छ ।

मुगु जिल्ला खत्याड गाउँपालिका–३ बुगा गाउँमा रहेको कालिका माध्यमिक विद्यालयमा कार्यरत बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुरका २७ वर्षीय जगतबहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी हवल्दार पृथ्वी रावतका अनुसार मृतक शिक्षक शनिबार गाउँ नजिक रहेको धारामा नुहाएर पाखामा घाम तापी रहेका बेला एक्कासी बसेकै स्थानबाट लडेका थिए ।

घाम तापेको पाखाबाट लडेर २०० मिटर तल पुगेका शाहीको टाउको र छातीमा चोट लागेपछि उपचारका लागि शनिबार ३ घण्टा टाढा रहेको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा स्थानीय र प्रहरीले लगेका थिए ।

स्वास्थ्य केन्द्रमा उपचारकै क्रममा शाहीको शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिमाली भिरपाखा र कठिन भूगोलका कारण बर्षेनी दर्जन बढी व्यक्तिहरूको लडेर मुत्यु हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।