बेलायती राजकुमारीको विवाह इटालीका व्यापारीसँग

Newslaya Home

बेलायती राजकुमारीको विवाह इटालीका व्यापारीसँग

आइतबार २६, माघ २०७६

लन्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयाकी नातिनी राजकुमारी बिट्राइसले इटालीका व्यापारी एडवर्ड मापेली मोजीसँग विवाह गर्ने भएकी छन् । बकिंघम दरबारले उनको विवाहको पुष्टि गरेको हो । बकिंघम दरबारका अनुसार राजकुमारी बिट्राइसको विवाह २९ मेमा हुनेछ । विवाहको कार्यक्रम सेन्ट जेम्स प्यालेसको च्यापल रोयलमा हुनेछ ।

बिट्राइस र मापेली मिलेर विवाहका लागि यो स्थान रोजेका हुन् । विवाहपछि बेलायती महारानीको आयोजनामा रिसेप्सन पार्टीको आयोजना गरिनेछ । ड्युक अफ योर्क र डचेस अफ योर्ककी ३१ वर्षीया छोरी राजकुमारी बिट्राइसले गत सेप्टेम्बरमा आफ्ना प्रेमीसँग विवाहको टुंगो लगाएकी थिइन् ।

बकिंघम दरबारले उनकी दिदीको विवाहलाई २०१८ मा आई टिभीमा प्रत्यक्ष देखाइए पनि यो विवाह समारोहको प्रत्यक्ष प्रसारण नहुने जनाएको छ । साथै, यो विवाहमा जनताको पैसा कुनै पनि रूपमा खर्च गरिने छैन ।

बेलायती राजपरिवारमा पछिल्लो दुई वर्षमा हुन लागेको चौथो विवाह हो । पछिल्ला तीन विवाह राजकुमारी युजिनी, ड्युक एन्ड डचेस अफ ससेक्स र लेडी ग्याब्रिएला विंडसरको भएको थियो । यी सबै विवाह विंडसर क्यासलमा सेन्ट जर्ज च्यापलमा नै भएको थियो । बिट्राइसको विवाह समारोहमा १ सय ५० जना अतिथिहरू सामेल हुनेछन् । उनकी दिदीको विवाहमा करिब ८ सय मानिस सहभागी भएका थिए ।