फोन स्वीच अफ गरेको झोँकमा विराटनगरमा विवाहिता प्रेमिकाको हत्या

Newslaya Home

फोन स्वीच अफ गरेको झोँकमा विराटनगरमा विवाहिता प्रेमिकाको हत्या

आइतबार २६, माघ २०७६

मोरङ । सुनसरीको दुहवीकी सम्झना खत्रि परियारको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

३२ वर्षीया खत्रीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सप्तरी कृष्णश्रवण गाउँपालिका–३ घर भई मोरङको बुढीगंगा गाउँपालिका–३ पोठियामा बस्दै आएका २५ वर्षीय सुरेन्द्रप्रसाद शाहलाई पक्राउ गरेको हो । साह क्वालिटी नुडल्स प्रालीमा स्टोर इञ्चार्जका रुपमा कार्यरत थिए ।

पक्राउ परेका साहले खत्रीसँग आफ्नो तीन वर्षदेखि प्रेम सम्बन्ध रहेको र बारम्बार फोन गर्दा पनि नउठाएको झोंकमा हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गर्दै आरोपीत साहमाथि उजुरी समेत परेकाले कर्तत्व ज्यान मुद्दा चलाइने जानकारी दिए ।

गत शुक्रबार विराटनगर महानगरपालिका–१२ बखरीको मलहनवास्थित उखुबारीमा घाँटी रेटेर सलले बेरेको अवस्थामा सम्झनाको शव फेला परेको थियो । शुक्रबार स्थानीयले उखुबारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

विराटनगरको रिङरोडसँग जोडिएको उखुबारीमा शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले सोही दिन बेलुका साहलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका साहले मंगलबार बेलुका हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।