मोरङको संसारी मन्दिरमा चोरी गर्ने व्यक्ति पक्राउ

Newslaya Home

मोरङको संसारी मन्दिरमा चोरी गर्ने व्यक्ति पक्राउ

आइतबार २६, माघ २०७६

मोरङ । मोरङको रंगेली नगरपालिका–७ मा रहेको संसारी माईस्थान मन्दिरमा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

माघ २२ गते राति मन्दिरको कम्पाउण्ड नाघेर करिब ११ लाख ३५ हजार मूल्य बराबरको मूर्ति लगायतका सामग्री चोरी गरेको आरोपमा रंगेली नगरपालिका–३ बस्ने भुवन पराजुलीलाई पक्राउ गरिएको हो ।

मन्दिरको मूर्ति लगायतका सामग्री चोरी भएको सूचना पाएलगत्तै अनुसन्धान अघि बढाउने क्रममा मन्दिरमा जडित सीसी क्यामेरा फुटेजको सहयोगमा पराजुलीलाई नियन्त्रणमा लिन सफल भएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।

सीसी क्यामेराको फुटेजमा देखिएको ज १२ प ५४६८ नम्बरको मोटरसाइकल पराजुलीको घरको आगनमा उक्त मोटरसाइकल पार्किङ गरी राखेको पाइएपछि प्रहरीले उनको घरको कोठाको खानतलासी गरेको थियो । पराजुलीले आफू सुत्ने कोठाको लो बेडमुनि लुकाएर राखेको अवस्थामा मन्दिरबाट चोरी भएका चाँदीको मुकुट, छत्र, त्रिशुल, सिक्री र पित्तलको गणेश तथा छोटी माताको पुरानो मूर्ति लगायतका सामानहरु बरामद गरिएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए ।