पान पसल : मेयरले बन्द गराए, उपमेयरले माफि मागिन्

Newslaya Home

पान पसल : मेयरले बन्द गराए, उपमेयरले माफि मागिन्

आइतबार २६, माघ २०७६

इटहरी । इटहरीका मेयर द्वारिकलाल चौधरीले उपमहानगरपालिका कार्यालय छेउको पान पसल बन्द गराइदिएका छन् ।

दिउँसो नगर प्रहरीसहित पुगेका उनले पान पसलका सञ्चालक सुवास शाहलाई बाहिर निकाली पसल बन्द गराइदिएका हुन् । सँगै उनले फोहोर गरेको भन्दै पान पसल अन्यत्र सार्नसमेत सुचना टाँस गरेका छन् ।

३५ वर्षदेखि सञ्चालित उक्त पान पसल बन्द गराएसँगै व्यवशायीहरु आक्रोशित भएका छन् । उद्योग वाणिज्य संघ इटहरी, होटल व्यवशायी संघ इटहरीका प्रतिनिधिहरु भेला भएर समस्या समाधान गर्न लागिपरेका छन् ।

यता उपमेयर लक्ष्मी गौतमले भने माफी मागेर पसल खोल्न अनुरोध गरेको उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष दिवस पोख्रेलले जानकारी दिए । ‘उपमेयरले खोल्न आग्रह गर्नुभएको छ,’ उनले भने ।

व्यवशायी शाहले चार दिनदेखि मेयर चौधरीले आफूहरुलाई उठिबास लगाउन खोजिरहेको बताएका छन् । उनले सोही कारण परिवारमा तनाव बढेको समेत बताए । ‘३५ वर्षअघि डेढ सय रुपैया भाडा तिरेर थालेको पसल हो, कहाँ जाउँ अब ?’ उनले भने ।

तीन दिनअघि पनि चौधरीले सुर्तीजन्य वस्तु बेचेको भन्दै मेयर चौधरीले भोला र गुटखा निकाल्न खोजेको र इटहरीका कंग्रेस सभापति हेमकर्ण पौडेलले रोकेको बताए ।