किमाथांका नाका बन्द हुँदा खाद्यान्न संकट

Newslaya Home

किमाथांका नाका बन्द हुँदा खाद्यान्न संकट

आइतबार २६, माघ २०७६

संखुवासभा । कोरोना भाइरसका कारण चीनले किमाथांका नाका बन्द गर्दा खाद्यान्न संकट भएको छ । किमाथांका नाका सिल गरिएपछि भोटखोला गाउँपालिका–१ किमाथांकामा खाद्यान्न संकट भएको हो ।

चीनले २० दिनअघि किमाथांका नाका बन्द गरेपछि खाद्यान्न संकट भएको भोटखोला गाउँपालिका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए । खाद्यान्न संकट भएको भोटखोलामा शनिबार हेलिकोप्टरमा चामल, नुन, तेल लगायतका खाद्य सामग्री लगिने अध्यक्ष भोटेले बताए ।

गाउँपालिकाले खाद्यान्न खरिद गरेर तुम्लिङटार विमानस्थल परिसरमा राखेको अध्यक्ष भोटेले बताए । खरिद गरिएका खाद्यान्न तुम्लिङटारबाट हेलिकोप्टरमार्फत भोटखोला लगिने अध्यक्ष भोटेले बताए । भोटखोलाको किमाथांका उच्च हिमाली क्षेत्र भएका कारण कोदो, मकै र आलुबाहेकका खाद्यान्न उत्पादन हुँदैनन् ।

संखुवासभाको उत्तरी क्षेत्र भोटखोलाका नागरिक चीनको चाँगा, देन्दाङ बजारमा आश्रित छन् ।